कलैया,दलित युवासँग प्रेम गरेकोभन्दै आफ्नै १५ वर्षीय छोरीको हत्या गरेको आरोपमा बारा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
बाराको फेटा गाउँपालिका वडा नम्बर १ त्रिवेणी टोलका हरिन्द्र महतोले आफ्नै छोरी कोशिला कुमारीको हत्या गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।महतोले गत साउन ११ मा मामाघर बस्दै आएकी छोरी कोशिलालाई पर्साको जगरनाथपुर गाउँपालिकाको सुगौलीमा रहेको खोला किनारमा हत्या गरेर शव फालेको प्रहरीले बताएको छ ।
कोशिलाको शव पर्सा प्रहरीले साउन १३ गते फेला पारेको थियो । शरीर र टाउको छुट्टा छुट्टै गरी ५० मिटरको दुरीमा फालिएको अवस्थामा कोशिलाको शव फेला परेकोे होे । जसको पहिचान करिब २० दिनअघि मात्रै भएको बारा प्रहरीले जनाएको छ ।साउन १३ मा प्रहरीले शव फेला पारे पनि त्यसको पहिचान भने हुन सकेको थिएन । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) कोमल शाहकाअनुसार शवको बारेमा कुनै जानकारी नपाएपछि केसलाई थाती राखिएको थियो । तर, करिब साढे ५ महिनादेखि छोरी बेपत्ता रहेकोबारे स्थानीयले प्रहरीलाई खबर गरेपछि सोधपुछ गर्दै जाँदा महतोले छोरीको हत्या गरेको स्वीकार गरेका एसपी शाहले बताउनुभयो ।
कोशिलाको शव पहिचान भएपछि बुबा महतोलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान सुरु गरिएको र विस्तृत जानकारी आउन बाँकी रहेको पनि एसपी शाहले बताउनुभयो ।जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेश काफ्लेले त्रिवेणीका स्थानीयहरूबाट महतोले आफ्नै छोरीलाई बेपत्ता बनाएको जानकारी आएपछि त्यसको अनुसन्धान गर्दा छोरीको हत्यामा बुवाको संलग्नता रहेको खुलेको बताउनुभएको छ ।पुस २० गते चार महिनादेखि छोरीलाई बेपत्ता बनाएको सूचना पाएपछि गाउँ र परिवारको २० जनाभन्दा बढीलाई व्यक्तिहरूसँग सोधपुछ गर्दा परिवारबाट नै बेपत्ता बनाइएकी किशोरीको हत्या गरेको र घटनालाई लुकाउन खोजिएको एसपी काफ्लेले बताउनुभयो ।‘सुरुमा छोरीलाई बेपत्ता बनाइएको बारेमा हरिन्द्रले छोरी हराएको जवाफ दिएर घटनालाई लुकाउन खोजेका थिए,’ बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेले भन्नुभयो, ‘अनुसन्धान गर्दै जाँदा छोरीलाई घरबाट लगेर पर्सा जिल्लामा हत्या गरेर फालिएको पुष्टि भएको हो ।’
मृतक बालिका गाउँको गङ्गा साह माध्यमिक विद्यालयको कक्षा ८ मा पढ्दै गरेको र स्थानीय कृष्ण बैठासँग प्रेम सम्बन्ध रहेका कारणले उनको हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीको भनाई छ ।गाउँमा बैठासँगको सम्बन्धनको बारेमा हल्ला चलेपछि छोरीलाई पर्साको विश्रामपुरमा रहेको मामा घर पठाइएको पनि जवाफ महतोले दिएको प्रहरीले बताएको छ ।बैठा दलित समुदायको रहेकोले कुनै सम्बन्ध नराख्न परिवारले पटक–पटक कौशिलालाई दबाब दिँदै आएको तर, छोरीले बैठासँगको सम्बन्ध कायम राखेको बारे गाउँमा हल्ला चलेपछि छोरीको हत्या गर्नुपरेको हरिन्द्रले स्वीकारेको डिएसपी न्यौपानेले बताउनुभयो ।
न्यौपानेका अनुसार महतोले दुई जना सहयोगीसँग मिलेर छोरीलाई गाडीमा लगेर गाडीमै हत्या गरेको र शवलाई खोला किनारमा फालेका स्वीकारेका छन् ।
बारा प्रहरीले प्रारम्भिक अनुसन्धान गरेर पक्राउ परेका महतोमाथि थप कारबाहीको लागि पर्सा प्रहरीको जिम्मा लगाएको छ ।



















