राजन कुमार बानिया
पोखरिया,केही दिनअघि केही अनलाइन पत्रिकाहरुले आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले समाचार लेखेकोभन्दै पर्साको छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ताले आरोप प्रमाणित गर्न चुनौति दिनुभएको छ ।संचारकर्मीहरुसंगको भेटमा कुरा गर्दै नेकपा एमाले पर्साका जिल्ला सचिवसमेत रहेका छिपहरमाई गाउँपालिका अध्यक्ष गुप्ताले आफूले अनियमितता गरेको भए प्रमाणसहित सत्यतथ्य समाचार सम्प्रेषण गर्न पनि आग्रह गर्नुभएको छ ।

उहाँले अडिट रिपोर्टबाट देखिने बेरुजुलाई भ्रष्टाचार भन्न नमिल्ने बताउनुभयो । नेपालका सबै स्थानीय र प्रदेश सरकार मातहतको कार्यालय या संघीय सरकारको कार्यलयमा पनि बेरुजु देखिने बताउनुभयो । ‘बेरुजुमा कुनै कागज पत्र नपुगेर वा नियम नपुगेर भएको कार्यलाई अडिट रिपोर्टले सच्चाउने मौका दिएको हुन्छ उहाँले भन्नुभयो, फर्छौट गराउने कार्यलाई भ्रष्टाचार भन्न मिल्दैन ।’

त्यस्तै उहाँले आफ्नो पहिलो वर्षे कार्यकालमा कार्यालयका कर्मचारीहरुले समेत समाजिक कार्य लागि बजेट छुट्याउन जोड दिएको भन्दै तर आफूले अहिलेसम्म त्यस्तो शीर्षकमा बजेट नहालेको बताउनुभयो । ‘अन्य पालिकाहरुले अहिले पनि हरेक वर्ष समाजिक कार्यका लागि भनेर तालिम बापत तीन÷तीन करोड रुपैया खर्च गरिरहेका छन ।’ तालिमको नाममा हुने खर्चले गाउँको विकासमा कुनै प्रभाव नपर्ने देखेर सोको खर्च कटाएर शिक्षा, स्वास्थ्य र भौतिक विकासको क्षेत्रमा लगाएको पनि अध्यक्ष गुप्ताको भनाई थियो ।उहाँले पर्सा जिल्लाको स्थानीय चुनावमा दोस्रो कार्याकालको लागि कसैले पनि नजितेको तर पहिलो कार्यकालमा गाउँपालिकाको विकासको लागि गरेको काम देखेर जनताले आफूलाई दोस्रो पटक जिताएको सुनाउनुभयो । जनताको मतको कदर गर्दै आफूले गाउँपालिकाको विकासको लागि दिनरात नभनी काम गरिरहेको बताउनुभयो ।

Leave a Reply