सिम्रौनगढ, साउन ८– बालाको टुप्पामामात्रै धानको दाना लागेपछि बारा जिल्लाको सिम्रौनगढ नगरपालिकाका किसान चिन्तित बनेका छन । नगरपालिका वडा नम्बर ६ को इटवाल र वडा नम्बर १० को देवापुर टेटामा किसानले खेतमा लगाएको चैत्रे धानको टुप्पामामात्रै दाना लागेपछि किसान चिन्तित बनेका हुन । यस क्षेत्रको सयौं बिगाहा खेतमा लगाइएको चैते धानमा यस्तो समस्या देखिएको छ ।

दुख गरेर रोपेको धानको फल नलागेपछि आफुहरु समस्यामा परेको स्थानीय किसान लखिन्द्र हजराले बताउनुभयो । उहाले बालामा दाना पनि पातलो लागेको र उत्पादन कम हुने देखिएपछि नगरपालिकाका किसानहरु चिन्तित बनेका छन ।

दाना नलागेपछि लगानी खेर गएको अर्का किसान मोखतार मियाँले बताउनुभयो । किसानले गत चैत्र महिनामा ऋण÷धन गरेर रोपेको धानमा फल नलागेपछि समस्या परेको अर्का किसान असिन मियाले बताउनुभयो । उहाकाअनुसार अधिकांश किसानले साहुसंग ऋण लिएर मल, खाद र बीउ खरिद गरी धान रोपेका थिए ।

गाउँका सुरेन्द्र यादव, रमेश यादव, पनालाल साह, जोधा राउत, रामप्रसाद पासवान, लालबाबु साह, राजेश यादवले पनि आफ्नो खेतमा रोपेको धानको बालाको टुप्पामामात्र पातलो दाना लागेको बताउनुभयो । धान नफलेर मार्कामा परेका किसानहरुलाई राज्यले क्षेतिपुर्तिको व्यवस्था गर्नुपर्र्ने उनीहरुको भनाइ छ ।

बिश्वब्यापी माहामारीको रुपमा रहेको कोरेना भाइरस प्रकोपका कारण ज्यालादारी गर्न अनेत्र जान पनि नसकिएको र रोपेको धान पनि राम्ररी नफलेपछि भोकमरी लागेर परिवारको हातमुख जोर्न समस्या हुने किसानहरुको गुनासो छ ।

Leave a Reply