रौतहट,चोरी सिकारीले बाघ मारेर लुकाएको खवर पाएपछि वन कार्यालयले रौतहटको वनमा मारिएको भनिएको पाटे बाघको खोजी सुरु गरेको छ । दुर्लभ एवंम संरक्षित वन्यजन्तुको सूचीमा रहेको पाटे बाघ केही दिनअघि रौतहटको जंगलमा शिकारीले मारेको बताइएको छ ।बँदेल, हरिण, मृग जस्ता जंगली जनावर सिकार गर्ने समुहले दुर्लभ प्रजातिको पाटे बाघ मारेर जंगलमै लुकाएको बताइन्छ ।जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्वर ५ स्थित राजपेडा गाउँको पूर्वतर्फ रहेको रामलाल वृन्दावन साझेदारी वन क्षेत्रको जंगलमा जंगली जनावर मार्न सिकारीले थापेको जालमा बाघ परेपछि घरेलु हतियार लाठी, भाला, बन्चरोले हिर्काएर बाघलाई मारेको स्थानीयले बताएका छन ।जालमा परेको बाघलाई मार्न खोज्दा केही सिकारीलाई बाघले आक्रमण गरेर घाइते बनाएको र एकजना सिकारी गम्भीर घाइते भएको स्थानीयको भनाइ छ ।बाघको आक्रमणबाट घाइते हुनेमा चन्द्रपुर नगरपालिका वडा नम्बर ८ स्थित बेतौना घर भएका भुवन माझी रहेका छन् । बाघले आक्रमण गरेको भन्दा आफू लगायत घटनामा संलग्नहरु समेतलाई कारबाही हुने डरले रुखबाट लडेको भनी उपचारको लागि अस्पताल पुगेका उनको तिघ्रा भाचिएको छ । हाल उनलाई एम्बुलेन्सबाट वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा राखेर उपचार भइरहेको पनि बताइएको छ ।सिकारीले घटना लुकाउन जंगलमै खाल्टो खनेर मृत बाघलाई पुरेको पनि बताइएको छ ।रौतहटको जंगलमा चोरी, तस्करी, वन्यजन्तुको सिकार नौलो घटना नभए पनि सिकारीले बाघ नै मारेको घटना भने पहिलो हो । डिभिजन वन रौतहटका प्रमुख सहितको टोलीले सम्भावित स्थानमा खोजी गरेपनि मारेर लुकाएको भनिएको बाघ अझै फेला परेको छैन ।


















