मनहर्वा, साउन ७– प्रदेश २ सरकारले कृषि ज्ञान केन्द्र र भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नभएका जिल्लामा पनि ती कार्यालयहरु स्थापना गर्ने भएको छ ।
भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले सिरहा र महोत्तरी जिल्लामा कृषि ज्ञान केन्द्र तथा बारा र सप्तरीमा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र संचालनमा ल्याउने निर्णय गर्नुभएको हो । मंगलबार भएको उक्त निर्णयको मन्त्री साहले बुधबारमात्रै सामाजिक संजाल फेसबुकमार्फत जानकारी गराउनु भएको छ । यो निर्णयसंगै प्रदेश नं. २ का ८ वटै जिल्लामा अब कृषि ज्ञान केन्द्र र भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र संचालनमा आउने भएका छन । त्यस्तै जिल्लागत रुपमा सहकारी कार्यालयहरुसमेत छिटै स्थापना गरी संचालनमा ल्याईने मन्त्री साहले जानकारी दिनुभएको छ ।
नेपालको संविधान २०७२ जारी भई कार्यान्वयका क्रममा राज्य पुर्नसंरचना हुँदा तत्कालिन कृषि विकास कार्यालय, भेटनरी अस्पताल, डिभिजन सहकारी कार्यालयलगायतका दर्जनौं सरकारी कार्यालयहरु खारेजीमा परेका थिए । किसानको प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यालय नहुँदा समस्या हुँदै आएको थियो । खारेजीमा परेका कार्यालयको सेवा स्थानीय तहहरुबाट प्रादान हुँदै आएपनी प्रभावकारी नभएको सर्वसाधारण सेवाग्राहीले छुट्टै कार्यालयको माग गर्दैआएका थिए । नयाँ स्थापना हुने कार्यालयहरु यसअघि खारेजीमा परेका साविकको कृषि विकास कार्यालय तथा जिल्ला पशु सेवा कार्यालय भवनमा संचालन हुने जनाइएको छ ।