एजेन्सी, साउन ७– चीनसँग लद्दाखको गलवान घाँटीमा सैन्य झडप भएलगत्तै भारतले अमेरिकासँग संयुक्त सैन्य अभ्यास थालेको छ । हिन्द महासागरमा दुवै देशका जलसेना (नेभी) संलग्न यो सैन्य अभ्यासलाई अर्थपूर्ण रुपमा हेरिएको बीबीसीले उल्लेख गरेको छ । अण्डमान–निकोबार द्वीप समूह नजिकै यो अभ्यास भैरहेको छ, निकै अघिदेखि भारतीय नौसेनाको इस्टर्न फ्लिट पहिलेदेखि नै तैनाथ छ ।
भारतीय नौसैनाका प्रवक्ताले यो अभ्यासलाई नियमित प्यासेज एक्सरसाइजकै हिस्सा भएको दावी गरेका छन । तर अमेरिकी सबैभन्दा ठूलो अमेरिकी युद्धपोत युएसएस निमित्ज समेत यो अभ्यासमा संलग्न गराइएको छ । भारतीय नौ सेनाले यसअघि पनि जापान र फ्रान्सका नौ सेनासँग मिलेर यस्तो सैन्य अभ्यास गरिसकेको छ । सामरिक दृष्ट्रिकोणले हिन्द महासागर निकै महत्वपूर्ण मानिन्छ, किनकी यो व्यापारको मार्ग पनि रहिआएको छ ।
अमेरिका र अन्य शक्तिशाली देशहरु यही समुद्री मार्ग भएर विवादास्पद दक्षिण चीन सागरमा पुग्ने गर्छन । अमेरिकी नौ सेनाका तर्फबाट जारी गरिएको विज्ञप्तिमा हवाई सुरक्षाका अतिरिक्त तालिम सुधार गर्न समेत पछिल्लो अभ्यास निकै महत्वपूर्ण भएको उल्लेख छ ।
साथै, दुवै देशका सैनिकको क्षमता बढाउन, समुद्री मार्गमा आउनसक्ने खतरा कम गर्न, समुद्री डाँकु र आतंकवादसँग लड्न मद्दत पुग्ने भनिएको छ । यो वर्षको अन्त्यसम्ममा भारतीय नौ सेनाले अष्ट्रेलिया, अमेरिका र जापानी नौ सेनासँग पश्चिम बंगालको खाडीमा पनि सैन्य अभ्यास गर्ने जनाएको छ ।