जियालाल चौधरी
कोल्हबी,बाराको कोल्हबी नगरपालिका वडा नम्बर १ कोल्हबी बजारमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज बारा शाखाले शुक्रवार करिब १ हजार ५ सय २५ जनालाई निशुल्क मास्क वितरण गरेको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको ओमिक्रोन भाइरसको नियन्त्रणलाई मध्यनजर गर्दै जनचेतनामुलक कार्यक्रमसहित फोनिजले कोल्हबी सर्जिकल र भिजन बायोमेड प्रालि विराटनगरको सहकार्यमा हाट बजारमा आएका सर्वसाधारणलाई मास्क वितरण गरेको हो । मास्क वितरण कार्यक्रममा ईलाका प्रहरी कार्यालय कोल्हबीका हवल्दार गौकरन चौधरी, प्रहरी जवान राजकुमार राम, सशस्त्र प्रहरी बेस क्याम्प कोल्हबीका प्रहरी नायब निरीक्षक रामशरण शिलवार, वरिष्ठ हवल्दार नन्दलाल यादवलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा फोनिज बाराका अध्यक्ष जियालाल चौधरी, सचिव धिरेन्द्र पनुहर र सदस्य पुर्णिमा चौधरी, रेडियो पातालगङ्गाका प्रतिनिधि जितेन्द्र चौधरीलगायतले सर्वसाधारणलाई मास्क वितरण गर्नुभएको थियो ।
भिजन बायोमेड प्रालि बिराटनगर र कोल्हबी सर्जिकल कोल्हबीका संचालक उपेन्द्र चौधरीले फोनिज बारा शाखा अध्यक्ष जियालाल चौधरीलाई १ कार्टुन मास्क र १५ थान सेनिटाइजर हस्तान्तरण गर्नुभएको थियो । त्यसैगरी फोनिजले बिहीवार कोल्हबी नगरपालिका वडा नम्बर ४ सपहीमा ४ सय १५ जनालाई पनि मास्क वितरण गरेको थियो ।