कलैया, साउन ७– बारा र पर्सामा थप ९ जनामा बुधबार कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ । कन्ट्याक्ट ट्रेसिङमा परेका र आफ्नै खर्चमा पीसीआर परीक्षण गराएका ९ जनामा कोरोना संक्रमण देखिएको नारायणी अस्पतालको पीसीआर ल्याबले जनाएको छ ।

 

मारुती फर्मास्युटिकल्सका दुईजना कर्मचारीमा कोरोना देखिएपछि उनीहरुको कन्ट्याक्टमा रहेका अन्यको पीसीआर परीक्षण गरिएको थियो । जसमध्ये बाराको सिम्रौनगढ– ८ कचोर्वा घर भई वीरगञ्ज ७ रामटोल बस्दै आएका २९ वर्षीय, पर्साको पटेर्वासुगौली गाउँपालिका–५ निचुटा घर भइ वीरगञ्ज–११ रानीघाट बस्दै आएका ५५ वर्षीय र परवानीपुर गाउँपालिका–५ बाराका २२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । यससँगै मारुती फर्मास्युटिकल्समा कार्यरत ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि आइतबार पनि मारुतीमा कार्यरत ३० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै जगदम्बा इन्टरप्राइजेजमा कार्यरत ५६ वर्षीय, नारायणी अस्पतालमा कार्यरत ३५ वर्षीय सरसफाइकर्मी, एडभान्स अस्पतालमा भर्ना भएका वीरगञ्ज–५ जेलरोडका ४७ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको नारायणी अस्पतालको पीसीआर ल्याबले जनाएको छ ।

 

त्यस्तै, आफ्नै खर्चमा पीसीआर जाँच गराएका वीरगञ्ज–२१ लिपनीविर्ता परवानीपुर बस्ने ३५ वर्षीय पुरुष, सखुवाप्रसौनी गाउँपालिका–३ कौवावन कटैया घर भई वीरगञ्ज–१३ राधेमाई टोल बस्दै आएका ३१ वर्षीय पुरुष र बाराको प्रसौनी गाउँपालिका–४ खुटुवाजब्दी घर भएका ३० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । यसैबीच बुधबार थप १०० जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार नयाँसहित कूल संक्रमितको संख्या १८ हजार ०९४ पुगेको छ । मंगलबार १५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २०७ जनाले कोरोना जितेर घर फर्किएका छन । योसहित कोरोना जित्नेको कुल संख्या १२ हजार ६ सय ८४ पुगेको छ।मंगलबार ६०९ जनाले कोरोना जितेर डिस्चार्ज भएका थिए । मन्त्रालयका प्रवक्ता डा. गौतमकाअनुसार पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ७९ जनाको पीसीआर नमुना परीक्षण भएका छन् ।

 

क्वारेन्टाइनमा रहनेको संख्या २० हजार ८सय ४२ पुगेको छ । यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ५ हजार ३ सय ६८ जनाको उपचार भइराखेको छ । मन्त्रालयका अनुसार कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाका ६० वर्षीय एक पुरुष र ४९ वर्षीया एक चिनियाँ महिला हुन । दुवैजनाको उपचारका क्रममा मृत्यु भएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here