दुष्यन्त चौधरी
७ श्रावण– साउन महिना लागेपछि शिवालय र मन्दिरहरुमा भक्तजनहरुको ठुलै भिड लाग्नेगर्छ । भगवान शिवको पूजा आरधाना गरेर मनोकामना पुरा हुने विश्वासमा हरेक बर्ष साउन लागेपछि भक्तजनहरु मन्दिरमा जाने गरेका छन । तर बाराको बारागढी गाउँपालिका वडा नम्बर १ पिप्रा बसतपुरको इनार छेउमा लाग्ने भिडको कारण भने अर्कै छ । त्यहा कुनै देवी देवताको पूजा आरधानामा होइन, स्वर्गीय रामपुकार चौधरीले इनारभित्र पालेको कछुवा हेर्न सर्वसाधारणको भिड लाग्ने गरेको हो । केही समययता इनारभित्र पालिएको कछुवा हेर्न छिमेकी गाउँबाटसमेत दिनहुँ सयौं सर्वसाधारण बसतपुर आउन थालेका छन ।

कलैया–कटहरीया सडक खण्डबाट पाँच सय मिटर उत्तरमा पर्ने बसतपुर गाउँमा रहेको एक ईनारमा संरक्षणको लागि कछुवा छोडिएको हो । गाउँ अन्य सबै ईनार सुकेर लोप भइसकेको भएपनि उक्त ईनारमा अहिले पनि पानी भरिभराउ नै छ ।

आहराको खोजीमा पानीमाथि निस्केपछि स्थानीयले नजिकबाट कछुवालाई हेर्ने गरेका हुन । ‘खानेकुरा फ्यालेपछि बाहिर निस्केकै मौका पारेर मानिसहरुले रमाइलो मानेर हेर्ने गरेका छन, स्थानीय धर्मेन्द्र यादवले भन्नुभयो, कछ्ुवाले छिमेकी गाउँका मान्छेलाईसमेत मोहित पार्दै आएको छ ।’ कछुवा हेर्न आउनेहरुले आफुले ल्याएको भुजा, चिउरा, बिस्कुट, पाउरोटी जस्ता खानेकुरा दिने गरेको उहाले बताउनुभयो । कछुवा सुन्दरताको प्रतीक भएकोले धेरैलाई मोहित बनाएको उहाले बताउनुभयो । चौधरीले ८ बर्षअघि आफनो घर नजिकको ईनारमा सो कछुवा छोडनुभएको थियो । चौधरीको मृत्युपछि उक्त कछुवालाई परिवारका सदस्यले संरक्षण गर्दै आएका छन ।

ईनारमा कछुवा पालेका कारण चौधरी अहिले पनि चर्चामा छन । ‘हेर्न आउने सबैले कस्ले पालेको भनेर सोध्ने गर्छन, यादवले भन्नुभयो, हामीले चौधरीकै नाम लिने गरेका छौ, मरेर गएको यतिका वर्षपछिसम्म पनि कछुवा पाल्ने मान्छेको नाममा उहाँ चारैतिर चर्चामा हुनुहुन्छ ।’ कसैकसैले त दुर्लभ जीवजन्तुको संरक्षण गरेकोमा चौधरीको गुनगान गर्ने गरेको यादवले सुनाउनुभयो । ‘धेरैले प्रकृतिप्रेमी मान्छे भनेर प्रशंसा गर्ने गरेकाछन ।’ उहाँले बताउनुभयो । चौधरीको ५ बर्षअघि क्यान्सर रोगका कारण मृत्यु भएको थियो ।

Leave a Reply