सिमरा,साविक भवानीपुर जीतपुर गाविस (हाल जीतपुरसिमरा उपमहानगरपालिका) का तत्कालिन सचिव आसमहमद अन्सारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३८ लाखको भ्रष्टाचार गरेको ठहर गरेर आरोपपत्र दायर गरेको छ ।
जीतपुरको गुदरी बजार र मिना बजारका सटर उपभोक्तालाई भाडामा लगाउँदा सचिव अन्सारीले अपनाएको विधि पारदर्शी नभएको र सरकारी कागजात नष्ट गरेर धरौटीबापतको रकम हिनामिना गरेको भन्दै अख्तियारले अन्सारी विरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।अन्सारीले एक सय २१ जना उपभोक्तासंग धरौटीबापत लिएको ३८ लाख ३० हजार पाँच सय रुपैयाँ गाविसको धरौटी खातामा जम्मा गर्नुपर्नेमा सो रकम खातामा जम्मा नगरेर हिनामिना गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । अन्सारीले बदनियतपूर्ण ढंगले हिनामिना गरेको पुष्टि हुने आधार भेटिएपछि आरोपपत्र दायर गरेको प्रवक्ता घिमिरेले जनाउनुभएको छ ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ ले निर्देश गरेवमोजिम अन्सारीसंग उक्त रकम असुल उपर, कैद र जरिवानाको सजाय माग गरेको छ । अन्सारी २०५४ सालदेखि भवानीपुर जीतपुर गाविसमा कार्यरत थिए ।जीतपुर भवानीपुरबाट सरुवा भएपछि अन्सारीले करिब ५ वर्ष साविकको निजगढ र रतनपुरको गाविस सचिवको रुपमा पनि कार्य गरेका थिए ।

Leave a Reply