खासगरी कोरोना संक्रमणले यति बेला मुलुक आक्रान्त छ । हरेक दिनजसो संक्रमितको संख्या थपिने क्रम पनि जारी छ । नेपाल–भारत खुला सिमानाका कारण भारतबाट नेपाल आउने अधिकांश नेपालीमा कोरोनाको संक्रमण देखिएको छ । संक्रमण नियन्त्रण गर्न सरकारले चालेका कदमको आलोचना भएको छ । कोरोना प्रभावित क्षेत्रमा किटको अभावका कारण परीक्षणमा समेत समस्या आएको समाचार सार्वजनिक भएको छ । सरकारले मुलुकभरका ६ लाख नेपालीमा उक्त भाइरसको परीक्षण गर्ने बताए पनि किट समयमा उपलब्ध नहुँदा कतिपय ठाउँमा संक्रमणको यकिन गर्न पनि सममस्या भएको छ ।
प्रधानमन्त्री केपी ओलीले राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा मुलुकमा लकडाउन गर्ने बेलामा समेत केही अलमल भएको स्वीकार गर्दै अबका दिनमा उक्त महामारीसँग लड्न सरकारले तयारीलाई तीव्र बनाएको समेत जानकारी दिनुभएको छ भने यो महामारीसँग लड्नका लागि सर्वदलीय बैठकसमेत बोलाउनुभएको छ ।दैनिक एक सयको हाराहारीमा संक्रमत थपिने र यी सबै भारतबाट आएका व्यक्ति नै हुने अवस्था जो देखिएको छ, यसको भोलिको भयानक तस्वीर बाहिर ल्याएको छ ।
भारतमा विमान सेवासमेत शुरू गरेको र हामीकहाँ खुला सिमाना भएका कारण भोलि नेपालको अवस्था अझै भयावह हुने अवस्था छ । तर, लकडाउन मात्र समस्याको समाधान हो भन्ने मान्यता पनि असफल भइसकेको छ । किनभने पछिल्लो विकासक्रम लकडाउनकै समयमा भएको हो । कलकारखाना बन्द गरेर मात्र समस्याको समाधान नहुने भएकाले लकडाउनको मोडालिटी परिर्वतन गर्न समेत विज्ञहरूले सुझाव दिएपछि अब जेठ २० गतेपछि मुलुकका कम प्रभावित क्षेत्रलाई विस्तारै सामान्य जनजीवनतर्फ ल्याउने तयारी सरकारले गरेको छ ।
अहिले भारतबाट नेपाल भित्रने नेपाली सबैभन्दा बढी चिन्ताको बिषय भएको छ । उनीहरू नेपाल प्रवेश गर्ने क्रम अझै तीव्र छ । बिनाजाँच उनीहरू नेपाल प्रवेश गर्ने गरेका कारण संक्रमित अहिले गाउँ–गाउँ पुगेका छन् ।