बारा जिल्लाका केही स्थानीय तहका किसानहरु केही दिनदेखि आन्दोलनमा छन । सरकारले घोषणा गरेको मुअब्जा रकम पाउनुपर्ने माग राखेर बाराको कोल्हबी, सिम्रौनगढ नगरपालिकाका तथा बारागढी र आदर्श कोतवाल गाउँपालिकका किसानहरु आन्दोलनमा उत्रिएका हुन ।करिब दुई वर्ष अगाडि निर्माण सम्पन्न भइसकेको तामागढी– सिम्रौनगढ हुलाकी सडकको राइट अफ वेमा परेको जमिनको मुअब्जा नपाएपछि उनीहरु सडकमा निस्किएका हुन । स्थानीयहरुले उठाएको माग गलत हो भनेर भन्ने ठाउँ छैन । सरकारले नै दिने भनेको मुअब्जा लामो समयसम्म नपाएपछि उनीहरु आन्दोलनमा उत्रिनु स्वभाविक नै हो । पीडितहरुले ५ दिनदेखि निजगढको तामागढी गेटमा धर्ना र प्रदर्शन गर्दैआएका छन । आन्दोलनकारीहरुले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेर सडकमै धर्ना बस्ने प्रयास गर्दैआएको भएपनि सुरक्षाकर्मीहरुले अहिलेसम्म उनीहरुलाई राजमार्गमा पस्न दिएको छैन । पीडितहरु राजमार्ग छेउमा टेन्ट राखेर २४सैं घण्टा रिले अनशनमा छन ।

बारा क्षेत्र नम्बर १ का सांसद अच्युत मैनालीले समेत स्थानीयहरुले उठाएको मागको विषयमा चासो दिनुभएको छ । उहाँले आन्दोलनरत पीडितहरुसंग शनिवार भेट गरेर आन्दोलनमा एक्यवद्धता जाहेर गर्नुभएको छ । सांसद मैनालीले पीडितलाई मुअब्जा उपलब्ध गराउने बारेमा आफूले निरन्तर प्रयास गर्दैआएको र सरकार पनि रकम दिन तयार रहेको भन्दै राजमार्ग अवरुद्ध पार्ने कार्य भने नगर्न आन्दोलनकारीहरुसंग आग्रह गर्नुभएको थियो । तर सांसदले आफ्नो मागमा ऐक्यवद्धता जनाए पनि मुअब्जा पीडितहरु भने आश्वस्त हुनसकेका छैनन ।

आन्दोलनकारीहरुले आइतवार पनि राजमार्ग अवरुद्ध पार्ने प्रयास गरेका थिए । लामो समयदेखि स्थानीयहरुले उठाउदै आएको यो विषयमा हालसम्म कुनै ठोस परिणाम नदेखिएपछि पीडितहरु सरकारको नियतमाथि नै शंका गरिरहेका छन । कानुनअनुसार दिनुपर्ने रकम नदिएर सरकारले आफूहरुमाथि अन्याय गरिरहेको उनीहरुको आरोप छ । कतै सरकारले रकम नै दिन नखोजेको पो हो कि भन्ने पनि उनीहरुमा आशंका छ ।
सरकारले पीडितहरुलाई तत्काल रकम उपलब्ध गराउन नसकेपनि उनीहरुको आशंकाको भने अबिलम्ब शंवोधन गर्न जरुरी छ । सुरक्षाकर्मीहरुको प्रयोग गरेर आन्दोलन मत्थर पार्न गरिएको प्रयासले पीडितहरुको रोष घटनुको साटो बढ्नेवाला छ । यति लामो समयसम्म पीडितले के कारणले रकम नपाएका हुन, अब कहिलेसम्म किसानलाई सो रकम उपलब्ध गराइन्छ भन्ने जस्ता प्रश्नको उत्तर सरकारले दिनुपर्छ ।

Leave a Reply