कृपा संवाददाता
कलैया – विश्व भरि महामारीको रूपमा फैलिएको नोबेल कोरोना भाईरस ( कोभिड-१९ ) दिन प्रति दिन संक्रमित हुनेको संख्या बढ्दै गईरहेकाले सरकारले पनि दिन प्रति दिन लकडाउन बढाउदै गरेको छ । महामारीको रूपमा फैलिरहेको नोबेल कोरोना भाईरसलाई नियन्त्रण गर्न तथा रोकथाम गर्नका लागि चालेका विभिन्न निर्देशनलाई पालना गर्नका लागि मुस्लिम आयोग नेपाल बाराले अपिल गरेका छन् ।
सरकारले जारी गरेको लकडाउनलाई सफल बनाउन मुस्लिम समुदायको पनि कर्तव्य रहेकाले मुस्लिम आयोग नेपाल बाराका अध्यक्ष राज महम्मद रायले विज्ञप्ति जारी गरि अपिल गरेका छन् । विश्व भरि महामारीको रूपमा फैलिएको नोबेल कोरोना भाईरस ( कोभिड-१९ ) बेला मुस्लिम समुदायको महान पर्व रमजान सकिने तथा यहि जेठ ११ गतेका दिन ईदुल फित्र परेकाले लकडाउनका बेला अनावश्यक रूपमा खर्च नगर्न समेत अनुरोध गरेको छ ।
मुस्लिम आयोग नेपाल बाराका अध्यक्ष रायले विज्ञप्तिमार्फत अनावश्यक खर्च नगरी आफ्नो जाकत , फितराबाट समुदायमा रहेको गरिब , असहाय , अपांग , एकल महिला सहयोग गर्न भनेका छन् ।
त्यसैगरी खासगरी मुस्लिम समुदायको अनाथालयलाई सहयोग गर्न अनुरोध गरेको छ । हालसम्म विश्वमा कोरोना भाईरस संक्रमित ४८ लाख ३० हजार दुई सय ९६ रहेको छ । भने १८ लाख ७१ हजार छ सय ६९ उपचार पछि निको भईसकेका छन् । त्यसैगरी तीन लाख १७ हजार दुई सय जनाको मृत्यु भईसकेका छन् ।
साथै हालसम्म नेपालमा कोरोना भाईरस संक्रमित तीन सय ७५ जना रहेको छ । भने ३६ जना उपचार पछि निको भईसकेका छन् । त्यसैगरी दुई जनाको मृत्यु भईसकेका छन् ।