मनहर्वा,जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १८ को बडहर्वामा मुख्य कार्यालय रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वा स्थापनाको २० वर्ष पुरा गरी २१ वर्षमा प्रवेश गरेको छ ।२०६० साल पौष १३ गते सहकारी डिभिजन कार्यालय भरतपुरमा दर्ता भई संचालनमा आएको सहकारीले शुक्रवार २१ औं स्थापना दिवस मनाउँदैछ ।स्थापनाको अवसरमा सहकारीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १७ को जैतापुरमा रहेका श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा बालबालिकाहरुको निःशुल्क आँखा परीक्षण शिविर पनि संचालन गर्दैछ ।यस्तै सहकारीका विभिन्न कार्यालयहरुमा पहिलो आउने सेवाग्राहीलाई पुष्पगुच्छाले स्वागत गर्ने कार्यक्रम समेत रहेको संस्थाले जनाएको छ ।२ सय २६ जना ग्रामीण किसान सदस्यहरुको २७ हजार शेयर र ५ लाख ६० हजार रुपैंया बचतबाट सुरु भएको सहकारीमा हाल ३ हजार १ सय २४ जना शेयर सदस्य आवद्ध छन् ।दैनिक एक रुपैंयाका दरमा मासिक ३० रुपैंयाँ बचतबाट सहकारीले आफ्ना सदस्यहरुबीच बचत शुरु गरेको थियो । हाल सदस्यहरुको ३ करोड ३९ लाख रुपैंया शेयर र २७ करोड २० लाख रुपैँया संस्थामा बचत छ ।संस्था कृषि जेटिए नियुक्त गरी कृषि कार्यक्रम संचालन गर्नुका साथै कृषि पसल, दुग्ध संकलन केन्दसहित ६ वटा कार्यालयहरुमार्फत सेवा दिँदै आएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १७, १८ र कलैया उपमहानगरपालिका २, ४, १६, २४, २६ र २७ नं. वडाहरुमा काम गर्दै आएको सहकारीले ६३ करोडभन्दा बढीको कारोबार गरिरहेको जनाएको छ ।पशु सुरक्षण कार्यक्रम, सदस्य सुरक्षा कार्यक्रम, महिला सदस्य हित कार्यक्रम, रेमिट सेवा संस्थाका आकर्षक कार्यक्रम रहेका छन । यससँगै संस्थाले पशुपालन, तरकारी खेती, व्यवसाय संचालन, खाद्यान्न बाली, नगदेबाली, दलहन, तेलहन खेतीका लागि सुपथ र सहुलियत ब्याजमा कर्जा लगानी गर्ने गरेको संस्था अध्यक्ष नयनकला खड्काले बताउनुभयो ।यससँगै स्थानीय कृषि बजार व्यवस्थापन, विद्यालय निर्माण, सरसफाइ, मठमन्दिर निर्माण, प्रहरी सहायता कक्ष निर्माण र खेलकुद लगायतका क्षेत्रमा सहयोग गर्दै सहकारीले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको उहाँले जानकारी दि नुभयो । संस्थाले स्थानीय २३ जनालाई प्रत्यक्ष र हजारौंलाई अप्रत्य रोजगारी दिएर रोजगारी सृजनामा ठुलो योगदान समेत गरेको छ ।यो संस्था राष्ट्रिय सहकारी बैंकले गर्ने मुल्याकंनमा यस वर्ष मधेस प्रदेशमा उत्कृष्ट सहकारी घोषित समेत भएको संस्थाका मुख्य प्रबन्धक पुष्पराज खतिवडाले जानकारी दिनुभयो ।

Leave a Reply