कलैया,बाराको चार वटा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम अनुसार ५० हजार भन्दा बढी मत बदर देखिएको छ । जिल्ला निर्वाचन कार्यालयको अन्तिम मतपरिणाममा प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक दुवै तर्फ ५० हजार ७७ मत बदर देखिएको हो ।

कार्यालयले उपलब्ध गराएको मतपरिणाम अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्ष र समानुपातिकतर्फ बारा क्षेत्र नं. १ मा १० हजार चार सय ७३, क्षेत्र नं. २ मा १३ हजार तीन सय ४२, क्षेत्र नं. ३ मा १२ हजार नौ सय ३२ र क्षेत्र नं. ४ मा १३ हजार पाँच सय ३० मत बदर देखिन्छ । चार निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मत क्षेत्र नं. ४ मा बदर भएको देखिएको छ ।

चार लाख ३३ हजार पाँच सय चार कुल मतदाता रहेको बारामा मंसिर ४ गते भएको निर्वाचनमा प्रत्यक्षतर्फ दुई लाख ८७ हजार दुई सय १९ मत खसेको थियो । खसेको मतमध्ये दुई लाख ७४ हजार ६ सय ५२ मत मात्रै सदर भएको छ ।

समानुपातिकतर्फ दुई लाख ८९ हजार दुई सय ६० मत खसेको थियो । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भन्दा दुई हजार ४१ मत समानुपातिकमा बढी खसेको हो । अन्तिम मतदाता नामावलीमा नाम हेरी निर्वाचनमा नखटिएका कर्मचारी, सुरक्षाकर्मीसहित बृद्धाश्रममा रहेका बृद्धबृद्धा, निर्वाचन कसुरमा सजाय भोगिरहेका बाहेक अन्य कैदीबन्दीलाई समानुपातिक निर्वाचनमा सहभागी गराउन बारा निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत कलैयामा अस्थायी मतदान स्थल राखिएको थियो ।

उक्त अस्थायी मतदान स्थलबाट एक हजार सात सय ४७ मत प्रतिनिधिसभाको समानुपातिकतर्फ खसेको हो । समानुपातिकतर्फ चार वटै निर्वाचन क्षेत्रबाट खसेको कुल मतमध्ये १३ हजार तीन सय ७५ मत बदर हुँदा दुई लाख ७५ हजार आठ सय ८५ मत मात्रै सदर भएको छ ।

क्षेत्रगत तथ्यांकअनुसार बारा क्षेत्र नं. १ मा एक लाख १९ हजार तीन सय ७५ मतदाता मध्ये प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ८० हजार सात सय ८५ र समानुपातिकतर्फ ८० हजार चार सय ९९ मत खसेको थियो । खसेको मत मध्ये प्रत्यक्षतर्फ दुई हजार सात सय ५६ र समानुपातिकतर्फ दुई हजार सात सय ६९ मत बदर रहेको जिल्ला निर्वाचन कार्यालयको विवरणमा उल्लेख छ ।

यसैगरी क्षेत्र नं. १ को प्रदेशसभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फ दुई हजार दुई सय ५० मत बदर हुँदा समानुपातिकतर्फ दुई हजार ६ सय ९८ मत बदर देखिन्छ । प्रदेशसभामा प्रत्यक्षतर्फ खसेको ८० हजार पाँच सय ६० मतमध्ये ७८ हजार तीन सय १० मत मात्रै सदर भएको छ । यस्तै समानुपातिकतर्फ खसेको ८१ हजार ४९ मतमध्ये ७८ हजार तीन सय ५१ मत सदर भएको छ ।

बारा क्षेत्र नं. २ को कुल एक लाख पाँच हजार ११ मतमध्ये प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ६६ हजार सात सय ४१ र समानुपातिकतर्फ ६८ हजार पाँच सय ५१ मत खसेको थियो । खसेको मत मध्ये प्रत्यक्षतर्फ ६३ हजार सात सय ४२ मत सदर हुँदा दुई हजार नौ सय ९९ मत बदर हुन पुगेको छ । यसैगरी समानुपातिकतर्फ खसेको मतमध्ये ६४ हजार एक सय ७७ मत सदर र चार हजार तीन सय ७४ मत बदर भएको छ । समानुपातिकतर्फको यो बदर संख्या अन्य क्षेत्रको तुलनामा बढी हो ।

क्षेत्र नं. २ अन्तर्गत प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फ खसेको ६६ हजार सात सय १६ मतमध्ये ६४ हजार आठ सय २४ मत सदर भएको छ । उक्त मत सदर हुँदा दुई हजार ९० मत बदर भएको छ । यसैगरी प्रदेशसभाको समानुपातिकतर्फ खसेको ६६ हजार सात सय ७७ मतमध्ये ६२ हजार नौ सय मत सदर भएको छ । प्रदेशसभाको समानुपातिकतर्फ तीन हजार आठ सय ७७ मत बदर भएको देखिन्छ ।

बारा क्षेत्र नं. ३ को कुल एक हजार तीन हजार एक सय ४८ मतदातामध्ये प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ६६ हजार नौ सय ६६ मत खसेको थियो । खसेको मतमध्ये ६३ हजार ६ सय १५ मत सदर र तीन हजार तीन सय ५१ मत बदर भएको छ ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ खसेको ६७ हजार तीन सय ५० मतमध्ये ६४ हजार चार सय ३२ मत सदर भएको छ भने दुई हजार नौ सय १८ मत बदर हुन पुगेको छ । प्रदेशसभातर्फ खसेको ६७ हजार दुई ६५ मतमध्ये ६३ हजार दुई ६४ मत सदर हुँदा चार हजार एक मत बदर भएको छ ।

बारा क्षेत्र नं. ४ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ खसेको ७२ हजार सात सय २७ मतमध्ये ६९ हजार दुई सय ६६ मत सदर भएको छ । यस क्षेत्रमा तीन हजार चार सय ६१ मत बदर भएको छ । जुन चार वटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ बदर भएको मतसंख्या भन्दा बढी हो । यस क्षेत्रबाट समानुपातिकमा खसेको ७२ हजार आठ सय ६० मतमध्ये ६९ हजार पाँच सय ४६ मत सदर भएको छ । समानुपातिकतर्फ यस क्षेत्रमा तीन हजार तीन सय १४ मत बदर भएको छ ।

प्रदेशसभाको प्रत्यक्षतर्फ यस क्षेत्रबाट खसेको ७२ हजार पाँच सय २७ मतमध्ये दुई हजार दुई सय २९ मत बदर छ । निर्वाचन कार्यालयको तथ्यांकअनुसार प्रदेशसभातर्फ ७० हजार दुई सय ९८ मत सदर भएको छ ।

प्रदेशसभाको समानुपातिकतर्फ यस क्षेत्रबाट चार हजार पाँच सय २६ मत बदर भएको छ । यो संख्या अन्य क्षेत्रभन्दा बढी हो । यस क्षेत्रबाट प्रदेशसभाका लागि खसेको ७२ हजार ६ सय ७८ मतमध्ये ६८ हजार एक सय ५२ मत सदर भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here