जीतपुर,जीतपुरसिमरा उपमहानगरपालिका ७ मा मदरसा टोलमा मंगलवार राती भएको चोरीको घटनमा आरोपीलाई पक्राउ गर्न पुगेको प्रहरीलाई भगाउन परिवारका सदस्य र आफन्तले तातो पानी, खुर्सानीको धुलो र ढुङ्गामुढा प्रहार गरेका छन ।सरुदिन देवानको घरमा राति चोरी गरेको आरोपमा स्थानीय रिजवाना खातुनलाई पक्राउ गर्न पुगेको गर्न इलाका प्रहरी कार्यालय सिमरा र जीतपुरबाट पुगेको प्रहरी टोलीमाथि खातुन र परिवारका सदस्यले तातो पानी र खुर्सानीको धुलो फ्यालेका थिए ।‘सुरुमा तातो पानी र खुर्सानीको धुलोले हाने, इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक युवराज तिमल्सिनाले भन्नुभयो, त्यसको बाबजुद प्रहरी टोली नफर्किएपछि परिवारका सदस्यले ढुङ्गामुढासमेत प्रहार गरेका थिए ।’पीडित पक्षले दिएको उजुरीको आधारमा घटनास्थलको मुचुल्का तयार पारेपछि प्रहरी टोली बुधवार रिजवानालाई नियन्त्रणमा लिन भनेर उनको घरमा पुगेको थियो ।प्रहरीले ढोका खोल्न खोज्दा रिजवाना र उनको परिवारका सदस्यले घरको छतबाट एक्कासी तातो पानी र खुर्सानीको धुलो फ्याल्न सुरु गरेको प्रहरी नायव उपरीक्षक तिमल्सिनाले जानकारी दिनुभयो । ‘रिजवानालाई बाहिर आउन आग्रह गरेका थियौं, उपरीक्षक तिमल्सिनाले भन्नुभयो, ढोका खोल्न नमानेपछि बल प्रयोग गरेर खोल्न खोज्दा उल्टै आक्रमण गरे ।’रिजवानाको परिवारका सदस्यले प्रतिकार गरेपछि केहीबेर तितरवितर भएको प्रहरीले अन्त्यमा बल प्रयोग गर्दै रिजवानासहित उनको परिवारका चार जनालाई नियन्त्रणमा लिएको थियो ।प्रहरीले ४० वर्षीया रिजवाना, उनको भाइ र दुई छोरालाई नियन्त्रणमा लिएको हो । चोरी आरोपमा उजुरी परेपछि अनुसन्धानका लागि पुगेको प्रहरीमाथि नै जाइलागेपछि प्रहरीले अभद्र व्यवहारमा उनीहरु विरुद्ध मुद्दा प्रक्रिया सुरु गरेको छ । प्रहरीले उनीहरुलाई बिहीवार जिल्ला अदालत बारामा पेस गरी म्याद लिएर थप अनुसन्धानअघि बढाएको छ ।

Leave a Reply