वीरगन्ज,कृपा दैनिकका संस्थापक कार्यकारी सम्पादक कृष्णउदास खनाल पुरस्कृत हुनुभएको छ ।
प्रेस सेन्टर नेपाल पर्साले शनिवार वीरगन्जमा एक कार्यक्रमको आयोजना गरी उहाँलाई नगदसहित सम्मान गरेको हो । स्वर्गीय कृष्ण सेन इच्छुक पत्रकारिता पुरस्कारबाट नगद २१ हजार रुपैयाँ सहित खनाललाई पुरस्कृत गरिएको हो ।

प्रेस सेन्टर पर्साले यसै वर्ष स्थापना गरेको प्रेस सेन्टर पत्रकारिताबाट खनाललाई शनिवार नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहान र पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो ।
गोरखा जिल्लामा जन्मिएर बारा, पर्सा र मकवानपुर जिल्लाको पत्रकारिता क्षेत्रमा सक्रिय रहनुभएको खनाल कृपा दैनिक पत्रिकामा स्थापना कालबाट नै कार्यकारी सम्पादकको रुपमा काम गर्दै आइरहनु भएको छ ।कार्यक्रममा देशसंचार अनलाइनका पत्रकार राम मंडललाई पनि प्रेस सेन्टर पर्साले प्रेस सेन्टर पर्सा क्रियाशील पत्रकारिता पुरस्कारसहित नगद २१ हजारबाट नै सम्मानित गरेको छ ।प्रेस सेन्टर पर्साका अध्यक्ष दीपक गौतमको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ पत्रकार सुर्दशनराज पाँण्डे, सेन्टरका केन्द्रीय सदस्य जगत राई लगायतलाई पनि सम्मान पत्रबाट सम्मानित गरिएको थियो ।
कार्यक्रममा प्रेस सेन्टरका केन्द्रीय सदस्य एवम् पर्सा इन्चार्ज नीरज पिठाकोटेले संगठनका विषयमा जानकारी गराउनु भएको थियो भने सचिव शिवनाथ यादवको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो ।

Leave a Reply