वीरगञ्ज,इस्लाम धर्मावलम्बीहरूको महान् पर्व रमजान आइतवारदेखि सुरु हुदैछ । एक महिनासम्म चल्ने यो पर्वमा मुसलमानहरू दिनमा निराहार बस्छन् ।रोजा बस्न मुसलमानहरूको उर्दू क्यालेन्डर अनुसार सूर्योदयभन्दा पहिले अर्थात् बिहानको नमाज पढ्नु अगावै केही खानेकुरा खाई प्रारम्भ हुने रोजा बेलुकाको नमाज (मगरिब) को आजान सुनेर खोल्ने चलन छ ।
निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समयतालिका पनि परिवर्तन भइरहन्छ । रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्दछन् ।उर्दू क्यालेन्डर अनुसार हिजरी संवत्को रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमानहरूको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ ।दान दिनु गरिब र दीन दुःखीको सेवा गर्नु, जकात निकाल्नु यो महिनाको विशेषता हो । व्रत बस्न आज साँझ मुसलमानहरूले चन्द्रमा हेर्ने गर्छन् ।शरीरलाई चोखो राखेर मात्र रोज बस्नुपर्ने मान्यता छ । त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमानहरू रोजा बस्नुलाई गर्व मान्दछ । नाबालक, बिरामी, घातक रोग लागेका र गर्भवतीलाई रोजा बस्न अनिवार्य छैन ।

















