नेपालका लागि भूगोलका आधारमा भारत र चीनपछि नजिकको मित्रदेश हो बंगलादेश। कुनै बेला गरिब मुलुकमा पर्ने यो मुलुकको आर्थिक वृद्धिदर आशालाग्दो गरी माथि उक्लिरहेको छ। यतिबेला त्यही मुलुकका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चारदिने औपचारिक सद्भावना भ्रमण शुक्रबार सकी स्वदेश फर्कीएका छन् । बंगलादेशबाट ३१ वर्षमा राष्ट्रपतिस्तरमा दुईपक्षीय भ्रमण भएको हो। राष्ट्रपतिको भ्रमणले नेपाल र बंगलादेश सम्बन्ध नवीकरण मात्र नभएर जनस्तरमा पनि सहकार्यका निम्ति ऊर्जा दिनेछ।

 

 

नेपाल भ्रमण वर्ष २०२० लाई पनि यो भ्रमणले बल र्पुयाउने अपेक्षा गरिएको छ।  राष्ट्रपति हमिदले नेपालको सुन्दरताको बयान गर्न चुकेनन्। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) र बहुपक्षीय अर्थिक तथा प्राविधिक सहकार्यका लागि बंगालका खाडी आसपासका मुलुकहरूको प्रयास (बिम्स्टेक) का सदस्यहरूबीच सहकार्यका बिषयमा उनको जोड रहेको छ । बिम्स्टेकको मुख्यालय बंगलादेशमै छ। काठमाडौं र ढाकाबीच सडक, हवाई, रेल र जलमार्ग सहकार्य वर्तमान आवश्यकता भएको उनको धारणा छ। यही सहकार्य नै विकास र समृद्धिका लागि अर्थपूर्ण हुन सक्छ। त्यसनिम्ति दुवै मुलुकले आआफ्नो स्तरबाट पहल गरेर दक्षिण एसिया र दक्षिणपूर्वी एसियाबीच सहकार्य यतिखेरको आवश्यकता हो।

 

हमिद आलंकारिक राष्ट्रपति भए पनि बंगलादेशमा सम्मानित राजनीतिज्ञ मानिन्छन्। बंगलादेश स्वतन्त्रतादेखि सक्रिय हमिद यो क्षेत्र बुझेका र खारिएका नेता पनि हुन्। बंगलादेश पाकिस्तानबाट छुट्टिँदाको बेलाभन्दा विश्व परिदृश्य यतिखेर फरक छ। नेपाल र बंगालदेश यस्ता मुलुक हुन्, जसले भारत र चीनको आसपासमा रहेर पनि सहकार्यमै क्षेत्रीय संगठनको अवधारणा ल्याई सार्कको जन्म भयो। त्यही सार्क यतिखेर अघि बढ्न नसकेको अवस्थामा भएको यस प्रकारको भ्रमणले ऊर्जा दिने अपेक्षा गरिएको छ।

Leave a Reply