काठमाण्डौ – नेपालभित्रै विद्युत् प्रसारण तथा आपूर्तिका लागि आज पहिलो पटक ४ सय केभी डबल सर्किट प्रसारण लाइनबाट बिजुली प्रवाह भएको छ । ढल्केबर–इनरुवा विद्युत् प्रसारण लाइनमा आजदेखि बिजुली प्रवाह शुरु भएको हो ।
अहिले ढल्केबर–मुजफ्फरपुर ४ सय केभीको अन्तरदेशीय प्रसारण लाइन छ जुन भारतबाट बिजुली आयात÷निर्यातका लागि मात्रै प्रयोग हुँदै आएको छ । आजेदेखि भने देशभित्रै विद्युत् प्रसारणका लागि धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ इनरुवासम्म विद्युत् प्रसारण लाइन सञ्चालनमा आएको हो । यो प्रसारण लाइनमा यही असारको २ गतेदेखि बिजुली प्रवाह गरेर परीक्षण भइरहेको थियो ।
देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत् व्यापार विस्तारका लागि यो प्रसारण लाइन निकै महत्त्वपूर्ण रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्रसारण लाइनले ४ हजार मेगावाट बिजुली प्रवाह गर्न सक्छ । माथिल्लो तामाकोशीलगायत अन्य आयोजनाबाट उत्पादित बिजुली देशका पूर्वी भेगमा प्रवाह गर्न र पूर्वी भेगको बिजुली पश्चिमतर्फ ल्याउन हेटौँडा–ढल्केबर–इनरुवा प्रसारण लाइन महत्त्वपूर्ण रहेको आयोजनाका प्रमुख श्यामकुमार यादवले बताउनुभएको छ ।
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार अहिले १ सय ३२ केभी प्रसारण लाइनको क्षमताले विद्युत् भार नधान्दा हिउँदयाममा ढल्केबरबाट इनरुवातर्फ बिजुली पठाउन समस्या थियो, भार धान्न नसकेर लाइन नै चुँडिने अवस्था थियो । तर अब ४ सय केभी प्रसारण लाइनबाट पर्याप्त बिजुली पठाउन सकिने हुँदा भोल्टेज सुधार भई मुख्य रूपमा मोरङ–सुनसरी औद्योगिक करिडोरको बिजुली आपूर्ति सुधार हुनेछ । यस्तै मोरङ–सुनसरी औद्योगिक करिडोरलगायत समग्र पूर्वी नेपालको माग धान्नका लागि भारतबाट थप बिजुली आयात तथा वर्षायाममा देशभित्र खपत गरी बचत भएको बिजुली निर्यात गर्न यो प्रसारण लाइन महत्त्वपूर्ण छ ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका– ११ थानाभ¥याङको हेटौँडा सबस्टेशनबाट इनरुवा सबस्टेशनसम्म २ सय ८८ किलोमिटर लामो प्रसारण लाइनलाई दुई खण्डमा विभाजन गरी निर्माण शुरु गरिएको थियो । प्रसारण लाइनलाई हेटौँडा–ढल्केबर १ सय ३४ किलोमिटर र ढल्केबर–इनरुवा १ सय ५४ किलोमिटरलाई दुई खण्डमा विभाजन गरिएको छ । यसमध्ये ढल्केबर–इनरुवा खण्ड २०६९ सालमा शुरु भएर अहिले ११ वर्षमा निर्माण सम्पन्न भएको हो ।वन क्षेत्रको विवाद, मुआब्जालगायतका कारणले ढिलाइ भएकोमा दुई वर्षअघि कोशी नदीमा आएको बाढीले एउटा टावर नै बगाइदिएपछि प्रसारण लाइनमा झनै ढिलाइ भएको थियो । हेटौँडा–ढल्केबर खण्ड भने अहिले पनि निर्माणाधीन छ । १७ करोड अमेरिकी डलर अनुमानित लागतको आयोजनामा नेपाल सरकार र विद्युत् प्राधिकरणको लगानी छ ।



















