कृपा संवाददाता
निजगढ, ३० कार्तिक । निजगढस्थित बागदेव दुग्ध उत्पादक सहकारी संस्थाको ९ औं साधारण सभामा नया कार्य समिति चयनको लागि निर्वाचन हुने भएको छ । शनिबार भएको साधारण सभाले सर्वसम्मत रुपमा कार्यसमिति चयन गर्न नसकेपछि निर्वाचन हुने भएको हो ।
नया कार्य समिति निर्वाचनको लागि निजगढ गाविसका पुर्व उपाध्यक्ष अम्बिकाप्रसाद चालागाई संयोजक र कृष्णप्रसाद तिमल्सिना तथा निजगढ नगरपालिकाका अधिकृत पद्मराज तिमल्सिन सदस्य रहेको निर्वाचन समिति समेत गठन गरिएको छ । निर्वाचन समितिले सर्वसम्मत समिति चयनको लागि स्थानीय राजनितिक दलका प्रतिनिधिहरुलाई आगामी मंसिर ३ गते ११ बजेसम्मको लागि समय दिएको र सो अवधिमा सर्वसम्मत हुन नसके प्रकृया अनुसार निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ ।
यसअघि सहकारीका अध्यक्ष थानेश्वर सापकोटा अविरलको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा प्रमुख अतिथि दुग्ध उत्पादक सहकारी संस्थाका केन्द्रीय सदस्य दिलबहादुर लामा, निजगढ निजगढ नगरपालिका वडा नम्बर ५ का अध्यक्ष थलप्रसाद गौतम, अम्बिका चौलागाई, सहकारी संजाल निजगगढका अध्यक्ष भोलाप्रसाद गौतम, सल्लाहाकार समिति संयोजक थानेश्वर सापकोटा, सदस्य नारायणप्रसाद गौतम, थिलप्रसाद गौतम लगायतले साधारण सभाको सफलताको लागि शुभकामना दिनुभएको थियो । कार्यक्रममा लेखा समितिका संयोजक लिला बन्जाराले स्वागत तथा सचिव बोधदिप तिमल्सिनाले कार्यक्रम संचालन गर्नुभएको थियो ।