२५ पुस, वीरगञ्ज । उपकार सेवा नेपालले ठोरी गाउँपालिका–१ भगवाननगरस्थित वृद्ध–वृद्धा आश्रममा आश्रित अपाङ्ग, सुस्त मानसिक अवस्था भएका व्यक्ति, वृद्ध–वृद्धा तथा बालबालिकालाई न्यानो कम्बल वितरण गरेको छ ।
चिसो मौसमलाई मध्यनजर गर्दै आश्रममा बसोबास गरिरहेका १८ जना आश्रितका लागि प्रयोगमा आउने गरी २७ थान कम्बल उपलब्ध गराइएको हो । आश्रमका सदस्य रामबहादुर थिङलाई घरमै बोलाई सानो कार्यक्रमको आयोजना गरी संस्थाका अध्यक्ष विद्या कुमारी सरावगी तथा सामाजिक अभियन्ता प्रकाश थारूले उक्त कम्बल हस्तान्तरण गरेका हुन् ।
उपकार सेवा नेपालले यसअघि पनि सो आश्रमलाई प्रत्येक महिना खाद्यान्न सामग्री तथा दैनिक प्रयोगका जिन्सी सामानहरु सहयोग गर्दै आएको छ । संस्थाले यस प्रकारका सामाजिक सेवा गतिविधिहरू आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।


















