कलैया,कलैया उपमहानगरपालिका– १७ सुराही टोलमा स्थानीय किसानले सिँचाईको लागि खेतमा जडान गरेको विद्युत् ट्रान्सफर्मर चोरी भएको छ ।विद्युत् ट्रान्सफर्मर चोरी हुने घटना बढेपछि स्थानीयबासी चिन्तित बनेका छन् ।
वडा सदस्य लक्ष्मी राउत कुर्मीले सोमवार राति आफ्नो बारीमा सिँचाइको काम गरिरहेको समयमा ट्रान्सफर्मरबाट तेल चुहिएको देखेपछि चोरीको घटना बारे जानकारी पाएको बताउनुभयो । उहाँले राति १२ बजे पोलबाट ट्रान्सफर्मर झारिएको र केही समयमा नै तामाको तार र अन्य धातु निकालेर चोरहरू फरार भएको जानकारी दिनुभयो ।
वडा अध्यक्ष दीपेन्द्रप्रसाद कुशवाहाका अनुसार सोही वडामा यसअघि पनि तीन थान ट्रान्सफर्मर चोरी भइसकेका छन् । कलैयाका अन्य वडाहरू १८, २१ र २५ मा पनि पछिल्लो एक महिनामा यस्तै चोरीका घटना भएका छन् । वडाध्यक्ष कुशवाहाले ट्रान्सफर्मर चोरीमा विद्युत् कर्मचारीकै संलग्नता हुन सक्ने आशङ्का व्यक्त गर्नुभएको छ ।
यसअघि पनि जिल्लाको निजगढ नगरपालिका वडा नम्बर ८, करैयामाई गाउँपालिका– २, सुवर्ण गाउँपालिकाको तेलकुअवा, महागढीमाई नगरपालिकाको गञ्जभवानीपुर, बगड्मपुर, बिजुलपुर, कलैया उपमहानगरपालिकाको सिसहनिया, र मोतीसर, फेटा गाउँपालिकाको त्रिवेणी तथा विश्रामपुर गाउँपालिकामा पनि ट्रान्सफर्मर चोरीका घटना भएका छन् ।
करैयामाईमा एक हप्ताअघि चोरी भएको ट्रान्सफर्मर जडान नहुँदा बिजुली बत्तीको अभावमा गाउँ अन्धकारमय बनेको छ । वडाध्यक्ष सुरेन्द्र चौधरीले नयाँ ट्रान्सफर्मर जडानका लागि विद्युत् प्राधिकरणमा बारम्बार धाउदा पनि हालसम्म जडान नभएको र स्थानीयले सास्ति बेहोर्नुपरेको बताउनुभयो ।
नेपाल विद्युत् प्राधिकरण, कलैया वितरण शाखाका प्रमुख ऋषिकुमार बर्णवालले चालु आर्थिक वर्षमा ट्रान्सफर्मर चोरीका घटनामा वृद्धि भएको स्वीकार गर्नुभएको छ । उहाँका अनुसार दुई वर्षअघि चोरीमा संलग्न समूह पक्राउ परेपछि केही समयका लागि घटना रोकिएको थियो । अहिले फेरि चोरी बढेपछि प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाका अनुसार प्रहरीले ट्रान्सफर्मर चोरीमा संलग्नहरूको खोजी कार्य जारी राखेको छ ।