काठमाण्डौ – नयाँ सरकार गठनको लागि छलफल गर्न बसेको सत्तारुढ गठबन्धनको बैठक विना निष्कर्ष सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक निष्कर्ष विना नै सकिएको हो ।बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकले प्रकट गरेको अभिमतलाई सम्मान गर्दै अघि बढ्ने कुरामा सहमति भएको बताउनु भयो । उहाँले प्रधानमन्त्री को पहिला बन्ने भन्नेबारेमा भने आइतवार बैठक बसेर टुङ्गो लगाउने बताउनु भयो ।उहाँले प्रधानमन्त्री को पहिला हुने भन्नेकुरा गौण भएको भन्दै देशलाई नागरिकको आकांक्षाअनुसार अघि बढ्ने ठूलो कुरा रहेको बताउनुभयो । उहाँले अबको सरकार गठबन्धनकै नेतृत्वमा बन्ने दाबी गर्दै गठबन्धनले नै नागरिकको शान्ति, विकास र समृद्धिको चाहनालाई पूरा गर्ने दाबी गर्नुभयो । मन्त्री कार्कीले नागरिकको आकांक्षालाई गठबन्धनको सरकार बनाएर तीव्र गतिले अघि बढाएर लैजाने दाबी गर्नुभयो ।सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार बेलुकी ५ बजेसम्मको समय दिनुभएको छ । त्यसअघि नै कुनै प्रतिनिधि सभा सदस्यले आफ्नो पक्षमा बहुमत पुर्याएर राष्ट्रपतिसमक्ष दाबी पेस गर्नुपर्नेछ । सत्तारुढ गठबन्धनले आफ्नो सरकार निर्माणका लागि प्रयास गरिरहेको छ । तर सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुले प्रधानमन्त्रीसँगै राष्ट्रपति लगायत मुख्य पदहरुको बाँडफाँटमा सहमति जुटाउन सकेका छैनन् ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो पालोमा प्रधानमन्त्री पद आफूले पाउनुपर्ने माग गर्दै आउनुभएको छ ।२ सय ७५ सदस्यीय प्रतिनिधि सभामा बहुमत पुर्याउन १ सय ३८ सिट चाहिन्छ । कांग्रेस र एमालेबाहेक कुनै पनि दुई दल मिल्दा बहुमत पुग्ने अवस्था छैन । कांग्रेसले ८९, एमालेले ७८ सिट जितेका छन् भने माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राप्रपाको १४, जसपाको १२, एकीकृत समाजवादीको १०, जनमतको ६, लोसपाको ४, नागरिक उन्मुक्तिको ३, राष्ट्रिय जनमोर्चा र नेमकिपाको १, १ सिट छ । स्वतन्त्रले ५ सिट जितेका छन् ।

Leave a Reply