११ मंसिर, काठमाडौं । सरकारले होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएपछि भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बस्दै आएका सुकुमवासीहरू शुक्रबार बिहानैदेखि विरोध प्रदर्शनमा उत्रिएका छन् ।

सरकारको निर्णयको विरोध गर्दै उनीहरूले बिहानैदेखि थाल ठटाएर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनमा वृद्धवृद्धा, महिला तथा बालबालिकासहित परिवारका सदस्यहरू सहभागी भएका छन् ।

सरकारले शुक्रबार दिउँसो २ बजेसम्म होल्डिङ सेन्टर खाली गर्न अल्टिमेटम दिएको थियो । त्यसपछि होल्डिङ सेन्टरमा बस्दै आएका सुकुमवासीहरूलाई उपलब्ध गराउँदै आएको खाना पनि बन्द गरिएको छ ।

खाना बन्द भएपछि उनीहरू भोक मेटाउन चाउचाउ र चिउराको सहारा लिन बाध्य भएका छन् । दिउँसो बालबालिका र वृद्धवृद्धासमेत सडकमा बसेर चाउचाउ र चिउरा मिसाएर खाइरहेको देखिएका थिए ।

होल्डिङ सेन्टर खाली गर्न दिइएको समयसीमा र खाना बन्द गरिएको विषयलाई लिएर त्यहाँ बस्दै आएका सुकुमवासीहरूले विरोध जारी राखेका छन् ।

Leave a Reply