कृष्ण मोहन साह
सेढवा,ठोरी गाउँपालिका वडा नम्बर २ र ३ को सीमाक्षेत्रबाट भारतीय पक्षलाई सिँचाइका लागि पानी दिएकोमा विरोध गर्दै आएका उपभोक्ताहरुले गठन गरेको ठुटेखोला पानी बचाऊ संघर्ष समितिले सोमवार ठोरी ३ का वडाध्यक्ष शम्भुबहादुर खड्कालाई ज्ञापनपत्र बुझाएकाछन ।
संघर्ष समितिका संयोजक पूर्ववडाध्यक्ष सूर्यबहादुर लामाको नेतृत्वमा उपभोक्ता सहितको टोलीले वडा कार्यालयमा पुगेर वडाध्यक्ष खड्कालाई ज्ञापनपत्र बुझाइएको संयोजक लामाले जानकारी दिनुभयो । समितिले बुझाएको ज्ञापनपत्रमा भारतीय पक्षलाई दिइएको पानी सधैंका लागि बन्द गरिनुपर्ने, ठुटेखोलाको पुल मुनिबाट दिइएको पानी लान दिन नहुने, नेपालको भुभागमा पानी ल्याउने कुलोलाई क्यानल सहित पक्की संरचना बनाइनुपर्ने लगायतका माग राख्दै स्थानीय सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं भनिएको छ ।
आफूले राखेको माग पूरा नभए हुन सक्ने क्षतिको जिम्मा सम्बन्धित निकायको हुनेछ भनि समेत ज्ञापनपत्रमा उल्लेख गरिएको संयोजक लामाले जानकारी दिनुरभयो ।
यसैबीच वडा नम्बर ३ का वडाध्यक्ष खड्काले सिँचाइको अभावले अन्नबालीमा असर परेको तर गाउँबाट दक्षिण जाने पानी भारतीय पक्षले लगेको र अस्थायी कुलो बनाएर लगेको भारतीय पक्षको कुलो खोलाले बगाएको हुँदा अब पुल मुनिबाट पानी लैजान भारतीय पक्षलाई नदिने जानकारी आफूले गराइसकेको जानकारी दिनुभयो । यदि लैजानै परे पनि दशगजा क्षेत्रभन्दा तल तिरबाटै पानी लैजान आफूले भारतीय पक्षलाई जानकारी गराइसकेको पनि जानकारी दिनुभयो ।
ज्ञापनपत्रमा उल्लेख गरिएको नेपालतिर बग्ने कुलोको मुहानलाई पक्की संरचना निर्माण गर्न वडा समिति र बुद्धिजीवीहरुको यही भद्र १६ गते बसेको बैठकले निर्णय गरी कार्यान्वयनका लागि गाउँपालिकामा अनुरोध गरि सकिएको समेत वडाध्यक्ष खड्काले जानकारी दिनुभयो ।