वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि ३ अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपैयाँ अनुमानित बजेट ल्याएको छ ।
वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले बुधवार नगरसभाको तेह्रौँ अधिवेशनमा आर्थिक वर्ष २०८०-०८१ का लागि उक्त अनुमानित आयव्यय बजेट प्रस्तुत गर्नुभएको हो । कुल बजेटमध्ये चालुतर्फ रु २ अर्ब ४८ करोड ८५ लाख ५ हजार अर्थात ७७ प्रतिशत र पूँजीगततर्फ ६८ करोड ८७ लाख १५ हजार अर्थात २२ प्रतिशत बजेट विनियोजन गरिएको छ । यस्तै वित्तीय व्यवस्थातर्फ ३ करोड ६३ लाख २४ हजार अर्थात १ प्रतिशत बजेट छुट्याएको छ ।
बुधवार प्रस्तुत भएको बजेटमा आगामी वर्ष शिक्षा क्षेत्र सुधारतर्फ १२ करोड २० लाख, खानेपानी तथा सरसफाइ क्षेत्रमा १२ करोड रुपैयाँ विनियोजन गरेको छ । यस्तै आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ एवं विकेन्द्रित रुपबाट उपलब्ध गराउन विकेन्द्रीत स्वास्थ्य सेवाको लागि ३ करोड ७५ लाख, यातायात पूर्वाधार क्षेत्रको लागि ५९ करोड, स्वयंसेवक शिक्षक कार्यक्रमका लागि ४ करोड ७५ लाख, खेलकुद क्षेत्रका लागि १ करोड रुपैयाँ छुट्याइएको छ । यस्तै ‘लामखुट्टेमुक्त महानगर’ अभियानका लागि लामखुट्टेको लार्भा नियन्त्रण, बासस्थान नष्ट गर्न, औषधि छर्किने अभियानका लागि ३५ लाख रुपैयाँ विनियोजन भएको छ । वीरगञ्ज महानगरपालिकाले सङ्घीय सरकारको वित्तीय समानीकरणबाट ४२ करोड ८८ लाख रुपियाँ, राजश्व बाँडफाड २१ करोड १२ लाख रुपैयाँ, सशर्त अनुदान ७५ करोड १६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ ।वीरगञ्ज महानगरपालिकाले संघीय सरकारको वित्तीय हस्तान्तरणबाट १ अर्ब ३३ करोड २१ लाख रुपैयाँ, राजश्व बाँडफाँडबाट २५ करोड २४ लाख ७० हजार रुपैयाँ प्राप्त हुने अनुमान छ ।यस्तै प्रदेश वित्तीय हस्तान्तरणबाट ४ करोड ४५ लाख ९५ हजार र प्रदेश राजश्व बाँडफाँडबाट २ करोड ८७ लाख रुपैयाँ र आन्तरिक राजश्वबाट १ अर्ब २० करोड ४४ लाख ३० हजारको अनुमान गरिएको छ ।नगरसभाको १२औं अधिवेशनले चालु आर्थिक वर्षका लागि ३ अर्ब ३३ करोड ६३ लाख २ हजार बराबरको बजेट ल्याएको थियो । आगामी आर्थिक वर्षको लागि भने बजेट घटेर आएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here