काठमाडौं । नेपाली कांग्रेसकी महामन्त्री डा। डिला संग्रौलाले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै पार्टीलाई अहिलेदेखि नै संगठनात्मक तथा राजनीतिक तयारीमा जुट्न आह्वान गरेकी छन् ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै उनले पार्टीको ‘हामी तयार छौं’ अभियानलाई देशभरका वडा र बुथ तहसम्म विस्तार गरेर संगठन सुदृढीकरणमा केन्द्रित हुनुपर्ने बताएकी हुन् ।
निर्वाचन आयोगले पार्टीको विधानअनुसारको विवरण र आधिकारिकता अद्यावधिक गरिसकेको उल्लेख गर्दै महामन्त्री संग्रौलाले अब आन्तरिक विवाद र वैधानिकतासम्बन्धी बहसमा अल्झिनुभन्दा संगठन निर्माण तथा निर्वाचनको तयारीमा जुट्नुपर्ने धारणा राखिन् ।
‘अब हामीसँग न त कुनै बहाना छ, न त अलमलिनुपर्ने कारण नै,’ उनले भनिन्, ‘हामी नै आधिकारिक कांग्रेस हौं भन्ने स्पष्ट र आत्मविश्वासपूर्ण सन्देश देशभरका ६ हजार ७४३ वटै वडा र बुथ तहसम्म पुर्याउनुपर्छ ।’
उनले ‘हामी तयार छौं’ अभियानलाई घरघरमा पुगेर जनसम्पर्क विस्तार गर्ने र नागरिकसँगको सम्बन्ध थप मजबुत बनाउने अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिइन् ।
महामन्त्री संग्रौलाले मुलुकमा देखिएका विपद्, अन्तर्राष्ट्रिय परिस्थितिका कारण उत्पन्न आर्थिक चुनौती तथा नागरिकका मौलिक अधिकारसँग सम्बन्धित विषयलाई कांग्रेसले गम्भीरतापूर्वक उठाउनुपर्ने बताइन् ।
सरकारका गतिविधिमाथि टिप्पणी गर्दै उनले प्रेस स्वतन्त्रता, विधिको शासन र लोकतान्त्रिक मूल्यमान्यतामाथि हस्तक्षेप भइरहेको आरोप लगाइन् ।
पत्रिकाको कार्यालयमै पुगेर धरपकड गर्ने, प्रहरी अनुसन्धानमा हस्तक्षेप गर्ने तथा प्रधानमन्त्रीका सल्लाहकारले प्रमाण वा मोबाइल फोन नियन्त्रणमा लिने जस्ता गतिविधि कांग्रेसलाई स्वीकार्य नहुने उनको भनाइ थियो ।

















