राजकुमार यादव
रौतहट,मोटरसाइकलको ठक्करबाट घाइते बनाइएका एक किशोरको उपचार खर्च र दोषिमाथि कारबाहीको माग गर्दै पीडित परिवारले आज जिल्ला प्रहरी कार्यालय रौतहटको मुख्य गेटमा धर्ना शुरु गरेका छन ।पीडित परिवारको तर्फबाट घाइतेकी आमा सुमनादेबी कुशवाहले न्यायको माग गर्दै शान्तिपूर्ण धर्ना शुरु गर्नुभएको हो । कुशवाहाको धर्नामा साथ दिन गाउँबाट ठूलो संख्यामा आफन्त र स्थानीयहरु पनि जिल्ला प्रहरी कार्यालय गौरमा पुगेका थिए ।
घाइते १६ वर्षीय छोरा निरजलाई संगै राखेर शुरु गरिएको धर्नाको दृश्य अत्यन्त दर्दनाक देखिन्थ्यो । पीडितकी आमा र काकी आँसु झार्दै न्यायको याचना गरिरहेका थिए भने अर्कोतर्फ घाइते किशोर पीडामा छटपटाइरहेको अवस्थामा देखिन्थ्ये ।
घटना जिल्लाको मौलापुर नगरपालिकाको हो । सो नगरपालिका वडा नम्बर– ३ गम्हरियाका वडा अध्यक्ष महेश महतो कोइरीले चलाएको मोटरसाइकलले गत असार ६ गते निरजलाई ठक्कर दिँदो टाउकोमा गम्भीर चोट लागेको थियो ।
घाइतेको उपचारका लागि सुरुमा स्थानीयले सहयोग गरेपनि अवस्था जटिल बन्दै गएपछि उनलाई नेशनल मेडिकल कलेज, वीरगञ्ज हुँदै न्युरो अस्पताल, बाँसबारी (काठमाडौं) पठाइएको थियो । हेलिकप्टर चार्टर गरी लगिएका उनको उपचार खर्चको लागि करिब पाँच कठ्ठा जग्गा बेच्नु परेको पीडित परिवारले बताएको छ ।तर, वडा अध्यक्ष कोइरीले उपचार खर्च नगरेको र उल्टै पीडित पक्षलाई धम्की दिइएको आरोप छ ।
पीडितकी आमा कुशवाहाले भन्नुभयो– “वडाध्यक्ष जस्तो जिम्मेवार व्यक्तिले उपचार खर्च तिर्नुको सट्टा उल्टै गाली गरेर फर्काए, अब उपचारको लागि परिवारमा केही बाँकी छैन, त्यसैले न्यायको लागि प्रहरीकै शरणमा आएका हौँ ।”पीडित पक्षले पटक पटक आग्रह गरे पनि वडाध्यक्ष विरुद्ध मुद्दा दर्ता नभएपछि उनीहरूले जिल्ला प्रहरी कार्यालय रौतहटको गेटमा शान्तिपूर्ण धर्ना थालेका हुन ।
आन्दोलनमा सहभागी स्थानीयबासीहरूले “पीडितलाई न्याय देऊ, दोषीलाई कारबाही गर” भन्दै नाराबाजी गरेका थिए । उनीहरूले वडाध्यक्ष कोइरीमाथि कानुनी कारबाही गर्न, पीडितको उपचार खर्च तत्काल उपलब्ध गराउन र घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।आन्दोलनमा कुशवाहा परिवारका सदस्य, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी तथा डिएसपी विष्णुप्रदिप वस्यालले दुर्घटनामा परेका किशोर हाल शारीरिक रूपमा अशक्त अवस्थामा रहेको र पीडकबाट उपचार खर्च दिलाई न्याय दिलाउने प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो ।


















