वीरगंज । वीरगंजमा आयोजित भेट्रान्स पारिवारिक क्रिकेट लिग टी–१० प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेका छन् ।
उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा उपस्थित मेयर सिंहले ब्याटिङ र बलिङ गर्दै प्रतियोगिताको औपचारिक सुरुवात गरेका हुन् । कार्यक्रममा खेलप्रेमी, आयोजक, खेलाडी तथा स्थानीयको उल्लेखनीय उपस्थिति थियो ।
प्रतियोगिताको उद्घाटन गर्दै मेयर सिंहले खेलकुद क्षेत्रको विकासमा यस्ता प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । खेलकुदले शारीरिक तथा मानसिक स्वास्थ्यलाई स्वस्थ राख्नुका साथै अनुशासन, आपसी सद्भाव, एकता र सहकार्यको भावना विकास गर्न सहयोग पुर्याउने उनको भनाइ थियो ।
उनले वीरगंजमा खेलकुद गतिविधिलाई थप विस्तार गर्दै खेलाडीको प्रतिभा पहिचान, प्रोत्साहन र विकासका लागि सकारात्मक वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । स्थानीयस्तरमा आयोजना हुने प्रतियोगिताले खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै नयाँ पुस्तालाई पनि खेलकुदप्रति आकर्षित गर्ने उनले विश्वास व्यक्त गरे ।
भेट्रान्स पारिवारिक क्रिकेट लिग टी–१० प्रतियोगिताले अनुभवी खेलाडीलाई पुनः खेलकुद गतिविधिमा जोडिने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ । यसले खेलप्रेमीबीच आपसी सम्बन्ध, भाइचारा र सद्भाव थप बलियो बनाउने विश्वास आयोजकले लिएका छन् ।
वीरगंजमा खेलकुदको वातावरणलाई जीवन्त बनाउने तथा स्थानीय खेलाडी र खेलप्रेमीलाई प्रोत्साहित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

















