अहिले नेपालमा एक समूहले पूर्व भइसकेका राजाको शासनको चाहना राख्दै राजालाई गुहार गरिरहेको देखिन्छ भने एकथरी गणतन्त्र आफूहरुको पेवा हो भन्ने जसरी लागि परेको पनि देखिन्छ ।
वास्तवमा यो देश सबैको हो । राजा पनि नागरिक भएर यो देशमा सम्मानका साथ बाच्न पाउनुपर्छ अनि गणतन्त्रको ठेक्का लिएकाहरु पनि नागरिककै स्तरमा रहनुपर्दछ । कुनै पदमा पुग्नुभनेको क्षणिकमात्रै भन्ने कुराको हेक्का नहुँदा आज देशमा सयौं राजा भएको नागरिकहरुले महसुस गर्न थालेका छन अनि बरु एउटामात्र राजा ठीक भनेर भन्न थालेका छन् । राजतन्त्रको उदय संभव नहोला तर नेता नसच्चिएको खण्डमा यसै भन्न सकिन्न ।फेरि नेताहरुको आचरणमा सुधार आउने छाँट पनि देखिदैन । काठमाडौंमा राजाको पक्षमा प्रदर्शन भएपछि पनि नेताले जनताको मन जित्ने काम गरेको देखिदैन ।
यो देशमा धेरै पटक भनेको कुरा के हो भने राजाको शासन आएपनि देशमा केही हुँदैन उल्टो देशमा लडाइ, झगडा र हत्या हिंसा बढ्नेछ । राजाको शासनकाल पनि जनताले देखेकै हो । विकल्प दलको नै हो तर दलहरु नसच्चिएको अवस्थामा चैं फेरि सकिने दिन पनि आउन सक्छ ।छिमेकी देश भारतको पनि कुरा आइरहेको छ । हुनत आफ्नो आन्तरिक मामिलालाई हरुलाई दोष दिनु ठीक नहोला तर नेपालको जति परिवर्तन छ त्यसमा भारतको कुनै न कुनै भूमिका छ र भारतको सहयोग बिना नेपालमा केही पनि हुनेवाला पनि छैन ।त्यसैले दलहरु सच्चिएर गणतन्त्रलाई संस्थागत गर्न जरुरी छ । अन्यथा उनीहरु पनि सकिने छन् र देशमा पनि के होला भनेर यसै भन्न नसकिने अवस्था आउन सक्नेछ ।















