काठमाडौँ । प्रहरी हिरासतमा रहेका इनम सापकोटाको मोबाइलबाट प्रमाण मेटाएर अनुसन्धान प्रभावित पारेको आरोप लगाउँदै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनसहितका व्यक्तिमाथि अनुसन्धान गर्न माग गरिएको छ।

वाईसीएलका केन्द्रीय सचिव धनबहादुर वलीले बेनसहितका व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँमा हुलाकमार्फत जाहेरी पठाएका हुन्।

वलीले जाहेरीमा सापकोटाको मोबाइल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हुँदै बेनको घरसम्म पुर्‍याइएको र त्यस क्रममा मोबाइलबाट प्रमाण मेटाइएको दाबी गरेका छन्। उनले उक्त घटनासँग सम्बन्धित प्रमाणसमेत जाहेरीसँगै पेस गरेको बताएका छन्।

जाहेरीमा प्रधानमन्त्रीको सचिवालयमा कार्यरत विशाल अधिकारी र चिराग श्रेष्ठ तथा गृहमन्त्रीको सचिवालयका जेम्स कार्कीमाथि समेत अनुसन्धान गर्न माग गरिएको छ।

वलीका अनुसार यसअघि सोमबार जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दर्ता गराउन जाँदा प्रहरीले लिन अस्वीकार गरेको थियो। त्यसपछि उनले हुलाकमार्फत तीनवटै निकायमा जाहेरी पठाएका हुन्।

बेनसहितका व्यक्तिमाथि लगाइएका आरोप पुष्टि हुन बाँकी छन्। प्रहरीले जाहेरीमाथि अनुसन्धान अघि बढाएको वा नबढाएको विषय भने स्पष्ट भइसकेको छैन।

Leave a Reply