रौतहट । तलबको माग गर्दै शिक्षक कर्मचारीले रौतहटको फतुवा विजयपुर नगरपालिकामा गरेको तालाबन्दी २० दिन पछि शुक्रबार खोलिएको छ ।छठ पर्व अघि सम्पूर्ण शिक्षक कर्मचारीको तलब, सामाजिक सुरक्षा भत्ता पाउनुपर्ने सर्तमा जनप्रतिनिधि र कर्मचारीको रोहवरमा ताला खोलिएको हो ।फतुवा विजयपुरको निलम्बित मेयर गोपाल राय यादवको पहलमा सबै ११ जना वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, तथा शिक्षक र नगरका कर्मचारीहरू भेला भएका थिए ।
छलफलमा नगर अन्तर्गतका सम्पूर्ण शिक्षक कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ता छठ पर्व अघि वितरण गराउने वडाअध्यक्षहरुले जिम्मा लिएपछि नगरपालिकामा लगाइएको तालाबन्दी खुला गरिएको सहभागी वडा नम्बर ९ का अध्यक्ष पप्पु भन्ने राकेश यादवले बताउनुभयो । बडा दसैँको मुखमा तलब सुविधा पाउने सम्भावना नदेखिए पछि गत असोज १९ गते शिक्षक र कर्मचारीले नगरपालिकाको मुलगेटमा गरेको तालाबन्दी गरेका थिए ।फतुवा विजयपुर नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत को हुने भने टुङ्गो नलाग्दा छठ पर्वभित्र शिक्षक, कर्मचारीको तलब तथा लाभग्राहीहरुको सामाजिक सुरक्षा भत्ता निकासा हुने देखिएको छैन ।सामान्य प्रशासन मन्त्रालयले फतुवामा केही दिनअघि नयाँ प्रशासकीय अधिकृतको रूपमा पठाइएका उपसचिव सुरेन्द्र प्रधानलाई जनप्रतिनिधिले विभिन्न आरोप लगाउँदै हाजिर हुन दिएका छैनन् ।
प्रधान आएपछि पहिलेदेखि कार्यरत निमित्त प्रमुख प्रशासकीय अधिकृत शम्भु यादव पनि कार्यालय आउन छोडेकाले फतुवा विजयपुर नगरपालिकाको अवस्था अन्योलपूर्ण बनेको छ ।कार्यवाहक मेयर आम्बेया खातुन नयाँ हाकिमको रुपमा उपसचिव प्रधानलाई हाजिर गराउने र वडा अध्यक्षहरूले भने प्रधानलाई हाजिर गर्न नदिने अडानमा छन ।असार १० गते भित्र हुनुपर्ने नगर परिषद् जनप्रतिनिधिबीच आपसी तालमेल नमिलेको कारण हालसम्म पनि हुन नसक्दा नगरपालिकाको आर्थिक गतिविधि ठप्प बनेको छ ।नगरभित्रका शिक्षक लगायत ३५० को हाराहारीमा कर्मचारीले तलब पाउन सकेका छैनन् भने दसैँ तिहार र छठजस्ता पर्वमा वृद्ध, वृद्धा, एकल महिला लगायत सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित भएका छन् ।