कलैया,नेपाली काग्रेसले बाराका ४ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरुको टुंङ्गो लगाएको छ ।विशेष महाधिवेशनबाट गगन थापा अध्यक्ष निर्वाचित बनेपछि पार्टीभित्र उत्पन्न असहज परिस्थितिमा पूर्वसभापती देउवा पक्षधरलाई समेत मिलाएर टिकट वितरण गर्नुपर्ने बाध्यताले कांग्रेसको उ्रम्मेदवार छनौटमा ढिलाइ भएको हो । यद्यपि बारा क्षेत्र नम्बर १ बाट निजगढका शम्भुबहादुर बुढाथोकीले उम्मेदवारी पाउनुभएको छ ।
त्यसैगरी क्षेत्र नम्बर २ मा भैयाराम यादव र क्षेत्र नम्बर ३ मा फरमुल्ला मन्सुर तथा क्षेत्र नम्बर ४ मा श्यामबाबु गुप्तालाई उम्मेदवार बनाएको छ । यसअघि आज दिनभरि नै टिकट बाडफाटको लागि दुबै पक्षबीच छलफल भएको छ । बाराबाट टिकट पाउनेमा सबै नै पार्टी सभापती गगन थापा समूहका हुन ।त्यसैगरी नेपाली कम्युनिस्ट पार्टीले बाराका ४ वटै निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवार टुंगो लगाएको छ ।क्षेत्र नम्बर १ मा सन्तोष दंगाल, २ का रमेशप्रसाद यादव, ३ मा भरत साह र क्षेत्र नं ४ का लागि ’जेनजी’ अजय कुशवाहालाई पार्टीले उम्मेदवार बनाएको छ । आजै उम्मेदवारहरूको टुंगो लगाइएको हो । रमेश यादव २०७४ सालको राष्ट्रिय सभा सदस्य हुन् भने दंगाल, साह र कुशवाह नयाँ अनुहार हुन् ।
क्षेत्र नम्बर १ का दंगाल तत्कालीन माओवादी केन्द्र निजगढ नगरपालिका कमिटी अध्यक्ष हुनुहुन्छ । उहाँ उमेरले ४० वर्ष ननाघेका युवा हुनुहुन्छ । बारा ४ का उम्मेदवार कुशवाहा भने अन्तर्राष्ट्रिय बास्केटबल खेलाडी हुन् । उहाँले सन् २०१७ पछि निरन्तर इन्डोनेसिया, माल्दिस, श्रींलका, भारत र बंगलादेशमा नेपालको तर्फबाट खेल्नुभएको थियो । ।
उता, जनता समाजवादी पार्टी नेपालले बाराको तीन वटा निर्वाचन क्षेत्रमा उम्मेदवारहरू टुंगो लगाएको छ । सो पार्टीले जिल्लाको क्षेत्र नम्बर ४ बाहेक अन्य क्षेत्रमा उम्मेदवारहरुको टुंगो लगाएको हो । जसपा नेपालले बारा क्षेत्र नम्बर १ मा अधिवक्ता रामबाबु प्रसाद यादव, २ मा रामकिशोर प्रसाद यादव र ३ मा रामबाबु कुमार यादवलाई उम्मेदवारहरूको रुपमा टुंगो लगाएको हो । क्षेत्र नम्बर ४ को उम्मेदवार टुंगो लगाउन बाँकी रहेको जसपा नेपाल पार्टीले जनाएको छ । जसपाले उक्त क्षेत्रमा लोसपासंग तालमेल गर्ने शंभावना छ ।नेकपा एमालेले भने यसअघि नै जिल्लाका ४ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुङ्गो लगाइसकेको छ । आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदै छ । भोलि (माघ ६) गते देशभर उम्मेदवारी दर्ता हुँदैछ ।
संघीय चुनाव लड्न बारामा वडा सदस्यबाट राजीनामा
कलैया,फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न बारा कलैया उपमहानगरपालिका वडा नम्बर १ का एकजना वडा सदस्यले राजीनामा दिएका छन् ।सर्वेन्द्र खनाल नेतृत्वको समुन्नत नेपाल पार्टीबाट चुनाव लड्न वडासदस्य शशी दासले सोमबार राजीनामा दिनुएको छ । बारा क्षेत्र नं. ३ बाट चुनाव लड्ने तयारी गरेका दासले नगर प्रमुख विनोद साहलाई राजीनामा बुझाउनुभएको छ ।दास समुन्नत पार्टीका केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँ २०७९ सालको निर्वाचनमा नेकपा एमालेबाट वडासदस्यमा निर्वाचित हुनुभएको थियो ।
















