तनहुँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय तहको निर्वाचनमा प्रतिनिधिसभा निर्वाचनमा जस्तो राजनीतिक लहर नचल्ने दाबी गरेका छन्।

मंगलबार तनहुँमा पार्टीको जागरण अभियानअन्तर्गत आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले स्थानीय निर्वाचनमा उम्मेदवारको इतिहास, पृष्ठभूमि र कार्यसम्पादनका आधारमा मतदाताले निर्णय गर्ने बताएका हुन्।

उनले नयाँ राजनीतिक दलले गरेका कामबारे सर्वसाधारणले विस्तारै बुझ्दै गएको उल्लेख गर्दै स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीका नेता तथा कार्यकर्तालाई सक्रियताका साथ लाग्न निर्देशन दिए।

‘स्थानीय तहमा पहिलेजस्तो हुरीबतास आउन सम्भव छैन। संघीय निर्वाचनमा जस्तो जसलाई हाले पनि हुने अवस्था स्थानीय तहमा हुँदैन,’ प्रचण्डले भने, ‘स्थानीय तहमा सबैलाई एकअर्काको इतिहास, पृष्ठभूमि र आफन्तबारे जानकारी हुन्छ। त्यसैले हामीले कसिएर चुनाव जित्ने लक्ष्यसहित काम गर्नुपर्छ।’

उनले नयाँ राजनीतिक दलको कामबारे जानकारी पाइसकेका मतदाताले त्यसको मूल्यांकन गर्न थालेको बताए। गाउँघरमा अझै बुझाउन बाँकी रहेकाले पार्टीका कार्यकर्ताले जनतामाझ पुगेर राजनीतिक विषय र कामबारे जानकारी गराउनुपर्ने उनको भनाइ थियो।

स्थानीय तहको निर्वाचनमा राम्रो परिणाम ल्याउन सके देश फेरि क्रान्तिको दिशामा अघि बढ्ने दाबीसमेत उनले गरे।

‘स्थानीय तहमा राम्रो परिणाम निकाल्न सक्यौँ भने देश फेरि क्रान्तितिर जान्छ। यो कुरालाई हामीले जति गहिरो गरी बुझ्छौँ, त्यति नै उत्साहका साथ काम गर्न सक्छौँ,’ उनले भने।

संयोजक दाहालले पार्टीका नेता तथा कार्यकर्ताको सक्रियता र मेहनतले निर्वाचनको परिणाम निर्धारण गर्ने उल्लेख गर्दै सबैलाई चुनावी तयारीमा जुट्न आग्रह गरेका छन्।

Leave a Reply