कलैया,श्रमजीवी पत्रकार ऐन कार्यन्वयनको अवस्था, चुनौंती र भावि रणनीतिक विषयमा कलैयामा शुक्रवार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
उद्योग बाणिज्य संघ कलैयाको सभा हलमा न्यूनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा भएको कार्यक्रममा सरकारले निर्धारण गरेको न्युनतम पारिश्रमिक नपाएको बाराका श्रमजीवी पत्रकारहरुले गुनासो गरेका छन ।
न्युनतम तलब सुविधा समेत नपाउदा पत्रकारिता पेशामा टिक्नै गाह्रो भइरहेको कार्यक्रममा सहभागी पत्रकारहरुले बताएका थिए । विगतमा पनि न्युनतम पारिश्रमिक निर्धारण समितिले अन्तरक्रिया र छलफल गरे पनि कुनै उपलब्धी नभएको सहभागी पत्रकारको प्रतिक्रिया थियो । पत्रकारहरुको गुनासो र सुझाव सुनेपछि न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य विमला पाण्डेले श्रमजिवी पत्रकाहरुले व्यक्त गरेका समस्या र सुझाव कार्यान्वयनका लागि समितिले सम्बद्ध निकायमा पहल गर्ने आश्वासन दिनुभएको छ ।
नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य गोपाल तिवारी, नेपाल पत्रकार महासंघ बाराका पूर्व अध्यक्षहरु गुरुप्रसाद गौतम, लक्ष्मी साह, पत्रकार गोकुल घोरसाइनेलगायतले धारण राख्नुभएको थियो ।
त्यसैगरी समितिले वीरगन्जमा पनि अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य गोपाल तिवारी, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान, केन्द्रीय सदस्य केसी लामिछाने, मधेश प्रदेश महासचिव श्याम बन्जारा लगायतले आ(आफनों धारणा राख्नुभएको थियो ।