काठमाण्डौं,चीनले अनुसन्धानमा प्रयोग गर्ने एउटा जहाज भारतको आपत्तिकै बीच श्रीलङ्काको हम्बानटोटा बन्दरगाहमा पुगेको छ । अनुसन्धानका लागि अत्याधुनिक उपकरणहरू जोडिएको जहाज जासुसका लागि प्रयोग हुनसक्ने भन्दै भारतले आपत्ति जनाएको थियो । तर भारतीय विरोध बाबजुद जहाज श्रीलङ्का पुगेको हो ।

युवान वाङ ५ नामको जहाजलाई श्रीलङ्काको पानीमा कुनै पनि अनुसन्धानको काम नगर्ने सर्तमा बन्दरगाहमा पार्क गर्ने अनुमति मात्रै दिइएको बन्दरगाहका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । जहाज बन्दरगाहमा अगस्ट २२ तारिखसम्म रहने जानकारी दिएको छ । हम्बानटोटा बन्दरगाह चीनले नै सञ्चालन गरिरहेको छ ।

अहिले श्रीलङ्कामा रहेको युवान वाङ ५ नामको जहाज चीनको पछिल्लो पुस्ताको अन्तरिक्ष ट्र्याकिङ जहाजहरूमध्ये एक रहेको रोयटर्सले जनाएको छ । यसलाई उपग्रह, रकेट र अन्तरमहाद्वीपीय क्षेप्यास्त्र प्रक्षेपणहरूको निगरानी गर्न प्रयोग गरिन्छ । भारतीय सञ्चारमाध्यमहरूले यसलाई दोहोरो प्रयोगको जासुस जहाज भन्दै अनुसन्धान र सर्वेक्षण पोत भनेका छन् ।

पछिल्लो समय अर्थतन्त्र टाट पल्टिएर समस्यामा परेको श्रीलङ्कालाई सहयोग पठाउनेमा सबैभन्दा अगाडि रहेको भारत यो घटनाबाट चिढिन सक्ने भारतीय सञ्चारमाध्यमले विश्लेषण गरेका छन् । जुलाई महिनाको सुरुमा भारतीय विदेश मन्त्रालयका प्रवक्ताले जहाजको सुक्ष्म अनुगमन गरिरहेको भन्दै श्रीलङ्काको क्षेत्रमा जानेबारे मौखिम विरोध गर्नुभएको थियो ।

Leave a Reply