काठमाडौं। नौ राजनीतिक दल मिलेर बनेको अग्रगामी मोर्चाले मंसिर १० गते गर्ने भनिएको आन्दोलन घोषणा कार्यक्रम स्थगित गरेको छ। टुँडिखेलमा कार्यक्रम आयोजना गर्न स्थान उपलब्ध नभएपछि घोषणा कार्यक्रम पछि सारिएको हो।
जनमत पार्टीका महासचिव सञ्जय यादवका अनुसार टुँडिखेलमा कार्यक्रम गर्न अनुमति लिन काठमाडौं महानगरपालिकामा बुझ्दा उक्त स्थान दुई महिनाका लागि बुक भइसकेको जानकारी प्राप्त भएको थियो।
उनले टुँडिखेलमा कार्यक्रम गर्ने तयारी भइरहेका बेला स्थान उपलब्ध नभएपछि तत्कालका लागि घोषणा कार्यक्रम स्थगित गर्नुपरेको बताए।
भृकुटीमण्डपमा समेत राजनीतिक कार्यक्रम गर्न नपाइने अवस्था रहेकाले अब माइतीघरबाटै आन्दोलनका कार्यक्रम घोषणा गर्ने मोर्चाको तयारी छ। यसबारे निर्णय गर्न मोर्चाले मंसिर १५ गते बैठक बोलाएको छ। बैठकले मिति र कार्यक्रम तय गरेपछि माइतीघरबाट आन्दोलन घोषणा गरिने यादवले जानकारी दिए।
मोर्चाले यसअघि विभिन्न ठूला सहरमा सभा तथा सम्मेलन गर्दै आएको छ। जनकपुरधाम र विराटनगरमा कार्यक्रम सम्पन्न गरिसकेको मोर्चाले आज धरानमा सभा आयोजना गरेको छ।
अग्रगामी मोर्चामा जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, खम्बुवान राष्ट्रिय मोर्चा र नेपाल जनमुक्ति पार्टी आबद्ध छन्।
संविधानले समानता, समावेशिता र सामाजिक न्यायको अधिकार सुनिश्चित गरे पनि व्यवहारमा सबै समुदायले समान अवसर र अधिकार नपाएको मोर्चाको दाबी छ। मधेसी, आदिवासी जनजाति, दलित तथा अन्य उत्पीडित र सीमान्तकृत समुदायको समान अधिकार, सम्मान र न्यायका लागि आन्दोलन गर्न लागिएको मोर्चाले जनाएको छ।

















