काठमाडौं। मधेशका विभिन्न जिल्लामा जनतासँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यसहित ‘हुँकार मधेश’ले तीन चरणमा जनसंवाद यात्रा सञ्चालन गर्ने घोषणा गरेको छ। मंसिर १० गतेदेखि सुरु हुने यात्राका क्रममा मधेश प्रदेशका आठ जिल्लासहित देशका विभिन्न क्षेत्रमा पुग्ने संगठनले जनाएको छ।

यात्रा सुरु गर्नुअघि हुँकार मधेशले प्रधानमन्त्री बालेन्द्र शाहलाई ज्ञापनपत्र बुझाउने तयारी गरेको छ। संगठनका संयोजक रामकुमार शर्माका अनुसार प्रधानमन्त्रीसँग भेटका लागि समय माग गरिएको छ। समय उपलब्ध भए प्रधानमन्त्रीलाई नै ज्ञापनपत्र बुझाइने र नभए सचिवालयमार्फत बुझाउने तयारी छ। त्यहाँबाट पनि सम्भव नभए जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत ज्ञापनपत्र बुझाइने उनले बताए।

हुँकार मधेशका प्रवक्ता केशवकुमारका अनुसार पहिलो चरणको यात्रा मंसिर १० देखि पुस ७ गतेसम्म सञ्चालन हुनेछ। यस क्रममा मधेश प्रदेशका आठवटै जिल्लामा पुगेर स्थानीय नागरिकसँग छलफल तथा संवाद गरिनेछ।

पहिलो चरणको यात्राको समीक्षा गर्न पुस १० गते बैठक बस्नेछ। त्यसपछि दोस्रो चरणको यात्रा पुस १७ गते चितवनबाट सुरु भई पुस २९ गते कञ्चनपुर पुगेर सम्पन्न हुनेछ।

दोस्रो चरणको समीक्षा गर्न माघ ३ गते बैठक आयोजना गरिनेछ। त्यसपछि तेस्रो चरणअन्तर्गत माघ ५ गते सिरहाको लहानमा बलिदान दिवसका अवसरमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिने प्रवक्ता केशवकुमारले जानकारी दिए।

तेस्रो चरणको यात्राअन्तर्गत माघ ५ गते झापा, माघ ७ देखि ९ गतेसम्म मोरङ, माघ ९ देखि १० गतेसम्म सुनसरी र माघ १० देखि ११ गतेसम्म उदयपुरमा कार्यक्रम सञ्चालन गरिनेछ। त्यस्तै, माघ १२ देखि १५ गतेसम्म काठमाडौं उपत्यकामा यात्रा तथा जनसंवाद कार्यक्रम गरिने संगठनले जनाएको छ।

विभिन्न मधेशवादी दलबाट अलग भएका युवाहरूले गत असोज ९ गते हुँकार मधेशको घोषणा गरेका थिए। संगठन गठनपछि हुन लागेको यो पहिलो औपचारिक कार्यक्रम हो।

संयोजक शर्माका अनुसार यात्राका क्रममा स्थानीय जनतासँग प्रत्यक्ष संवाद गरी उनीहरूका समस्या, सुझाव र अपेक्षा संकलन गरिनेछ। प्राप्त सुझावका आधारमा संगठनको आगामी राजनीतिक तथा सामाजिक कार्यक्रम तय गरिने उनले बताए।

‘तीन महिनासम्म जनतासँग प्रत्यक्ष संवाद गर्छौँ, स्थानीय चुनावका बारेमा छलफल गर्छौँ, गैरदलीय चुनावको माहोल तयार गर्छौँ,’ शर्माले भने।

तीन चरणको यात्रा सम्पन्न भएपछि माघ १७ गते संगठनको बैठक बसेर आगामी कार्यदिशा तय गरिनेछ। त्यसपछि हुँकार मधेशको राष्ट्रिय सम्मेलन आयोजना गर्ने तयारी रहेको संयोजक शर्माले जानकारी दिए।

Leave a Reply