बर्दिया। बर्दियाको राजापुर नगरपालिका क्षेत्रमा चितुवाको आक्रमणबाट १३ वर्षीया किशोरीको मृत्यु भएको छ। राजापुर नगरपालिका–१० मझराकी कमलासिंह ठकुरीको सोमबार साँझ चितुवाको आक्रमणबाट ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार किशोरी घरको आँगनमा खेलिरहेका बेला चितुवाले अचानक आक्रमण गरी घिसारेर लगेको थियो।
किशोरी बेपत्ता भएपछि परिवारका सदस्यले खोजी गर्ने क्रममा घरदेखि करिब ३०० मिटर पश्चिम–दक्षिणतर्फ रहेको सिमलको झ्याङमा उनको शव फेला पारेका थिए।
प्रहरीका अनुसार किशोरीको घाँटी तथा शरीरका संवेदनशील अङ्गमा गम्भीर चोट लागेको अवस्थामा शव भेटिएको थियो। घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ। शव परीक्षणका लागि राजापुर नगर अस्पतालमा राखिएको छ।
राजापुर क्षेत्रमा चालु आर्थिक वर्षमा चितुवाको आक्रमणबाट मानिसको मृत्यु भएको यो दोस्रो घटना हो। यसअघि गत असोज २२ गते राजापुर नगरपालिका–३ तिघ्राका ४२ वर्षीय मङ्गल थारुको पनि चितुवाको आक्रमणबाट मृत्यु भएको थियो।
उक्त घटनापछि डिभिजन वन कार्यालय बर्दियाले दुईवटा खोर राखेर एक साताको प्रयासमा आक्रमणकारी चितुवालाई नियन्त्रणमा लिएको थियो।
लगातार चितुवाको आक्रमणबाट मानवीय क्षति हुन थालेपछि राजापुर क्षेत्रका स्थानीयवासीमा त्रास बढेको छ।















