नेपालीका घर आँगनमा चुनाव लागिसकेको छ । गाउँ गाँउमा चुनावी चहलपहल बढिरहेको छ । उम्मेदवारहरु भोट माग्न मतदाताहरुको घरघरमा पुगिरहेका छन् तर मतदाताका माझमा उनीहरु जाँदा लैजानु पर्ने र मतदाताले पनि माग्नु पर्ने कुरा भने अहिलेसम्म कुनै दलले सार्वजनिक गरेका छैनन् ।

हुनत नेपालको सन्दर्भमा दलका घोषणा पत्र भनेको केवल कागजको खोस्टो जस्तो मात्रै भएको छ । राजनीतिक दलहरुले चुनावको समयमा घोषणा पत्र सार्वजनिक गर्ने गर्दछन् अनि त्यसको कार्यान्वयनका लागि पटक्कै चासो दिँदैनन् ।त्यसैले पनि मतदाताका लागि घोषणा पत्र आर्कषण नभएको हुनसक्छ तर एकजना मतदाताले आफ्नो मत कसैलाई दान गर्ने कुरामा दलको घोषणा पत्र र व्यक्ति स्वयम्को पनि घोषणा पत्र माग्न आवश्यक छ र उसका घोषणा पत्र वा प्रतिबद्धता पत्रका आधारमा कम्तीमा पाँच वर्ष यी काम गर्नसक्ने अवस्था हुन्छ कि हुन्न भनेर सोध्नु पनि पर्दछ ।

तर हामी मतदातामा पनि यो चेतनाको विकास भएको पाइदैन । पुराना दलले देश बिगारे नयाँ आवश्यक छ । पुराना दल पनि चुनावी मैदानमा नै छन् । उनीहरुलाई विगतको प्रतिबद्धता खोजौं अनि नयाँसँग पनि उद्देश्य मागौं । केवल नयाँ नयाँ भन्दैमा पनि नयाँले ल्याएको योजना र नयाँ उम्मेदवारले आफ्नो ठाउँमा गर्ने विकासको प्रतिबद्धता हेर्न आवश्यक छ ।राष्ट्रिय स्तरमा कुनै पनि दलले अहिलेसम्म घोषणा पत्र सार्वजनिक गर्न सकेका छैनन् । दलले घोषणा पत्र ल्याउन नसके पनि उम्मेदवार स्वयम्ले पनि ल्याउन सक्छन् । त्यसैले उम्मेदवारसंग पनि प्रश्न गरौं र प्रतिबद्धतासंगै कार्यान्वयनको सुनिश्चितता पनि माग्ने गरौं । जसले गर्दा उम्मेदवारलाई पनि जिम्मेवार बनाउन सक्छ ।

Leave a Reply