बारा, ३ असोज । पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत आधाभार जंगलमा आतंक मच्चाएको बाघलाई शुक्रबार बिहान नियन्त्रणमा लिइएको छ।

पछिल्लो तीन महिनामा बाघको आक्रमणमा तीन जनाको ज्यान गएपछि राष्ट्रिय प्रकृति संरक्षण कोष चितवन र जेडएसएलको विज्ञ टोली खटिएको थियो। हात्तीको सहयोगमा जंगल पुगेको टोलीले ‘डार्ट’ प्रयोग गरी बाघलाई बेहोस बनाएर नियन्त्रणमा लिएको हो।
निकुञ्जको कार्यालयस्थित खोरमा राखिएको सो बाघबारे जीतपुरसिमरा उपमहानगरपालिका–२१ का वडाध्यक्ष सुवास श्रेष्ठले जानकारी दिए।
बाघ नियन्त्रण अभियानमा विज्ञ टोलीसँगै जनप्रतिनिधि, प्रहरी र स्थानीय टोली समेत हात्ती चढेर जंगल पुगेका थिए।
यसअघि असार र भदौ महिनामा बाघको आक्रमणमा जीतपुरसिमरा–१ का ६० वर्षीय छेवाङ लामा, वडा नं। २२ का ५५ वर्षीय कृष्णप्रसाद शर्मा र वडा नं। २१ का ५० वर्षीय चन्द्रबहादुर ब्लोनको मृत्यु भएको थियो।
बाघको निरन्तर आक्रमणपछि त्रसित स्थानीयले नियन्त्रणको माग गर्दै आएका थिए।

















