वीरगंज । वीरगंजस्थित नेशनल मेडिकल कलेजमा स्नातकोत्तर (पीजी) तहमा अध्ययनरत प्रथम वर्षका आवासीय चिकित्सकहरूले सामूहिक रूपमा राजीनामा दिएका छन्। सुरक्षित, सम्मानजनक र निष्पक्ष वातावरणमा काम तथा तालिम जारी राख्न नसक्ने अवस्था सिर्जना भएको भन्दै उनीहरूले पदबाट राजीनामा दिएका हुन्।
शिक्षा तथा खेलकुद मन्त्रालयलाई सम्बोधन गर्दै बुझाइएको राजीनामा निवेदनमा चिकित्सकहरूले अन्य विकल्प बाँकी नरहेपछि बाध्य भएर यस्तो निर्णय लिनुपरेको उल्लेख गरेका छन्।
कलेजको कार्यशैली तथा अभ्यासप्रति असन्तुष्टि जनाउँदै चिकित्सकहरूले गत भदौ ३१ गतेदेखि शान्तिपूर्ण रूपमा पेन डाउन आन्दोलन सुरु गरेका थिए। आन्दोलनपछि समस्या समाधानका लागि शिक्षा तथा खेलकुद मन्त्रालय, चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को डीन कार्यालय र कलेज प्रशासनसँग पटक–पटक छलफल भएको थियो।
चिकित्सकहरूका अनुसार विगत दुई महिनाको अवधिमा भएका छलफलमा आफूहरूले विभिन्न आरोपसँग सम्बन्धित प्रमाणसमेत पेस गरेका थिए। तर, सम्बन्धित निकायले समस्या समाधान गर्न नसकेको र समाधानको आश्वासन मात्रै दिइरहेकाले अवस्था थप जटिल बनेको उनीहरूको भनाइ छ।
राजीनामा निवेदनमा पटक–पटकको प्रयासपछि पनि समस्या समाधान नभएपछि सुरक्षित र मर्यादित वातावरणमा तालिम निरन्तरता दिन असम्भव भएको उल्लेख गरिएको छ।
चिकित्सकहरूले राजीनामा निवेदनको बोधार्थ चिकित्सा शिक्षा आयोग, आईओएमको डीन कार्यालय र नेशनल मेडिकल कलेज प्रशासनलाई समेत दिएका छन्।
यस सामूहिक राजीनामाले नेशनल मेडिकल कलेजमा आवासीय चिकित्सकहरूको कार्य वातावरण र तालिमसम्बन्धी विवादलाई थप चर्चामा ल्याएको छ।
















