काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्व, दूरदृष्टि र नेपालको विकासप्रतिको प्रतिबद्धताको प्रशंसा गरेका छन्।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेनसँगको भेटवार्तापछि नयाँदिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले नेपालको प्रधानमन्त्रीका रूपमा पहिलो औपचारिक भारत भ्रमणमा आएका शाहलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताए।

मोदीले केही महिनाअघि संयुक्त राष्ट्रसङ्घमा विश्वकै युवा प्रधानमन्त्रीका रूपमा बालेनले गरेको सम्बोधनमा नेपालको भविष्यप्रतिको दूरदृष्टि स्पष्ट देखिएको उल्लेख गरे।

आजको भेटवार्ता र केही घण्टाको छलफलबाट आफूले नेपालको भविष्य तथा नेपाल–भारत सम्बन्धबारे प्रधानमन्त्री बालेनको स्पष्ट दृष्टिकोण र प्रतिबद्धता महसुस गरेको मोदीले बताए।

‘नेपालका जनताले उहाँलाई दिएको ऐतिहासिक जनादेशले नयाँ पुस्ताको आकांक्षा र आशा प्रतिबिम्बित गर्छ,’ मोदीले भने, ‘भारत सशक्त र समृद्ध नेपालको विकास यात्रामा सधैँ सहभागी रहँदै आएको छ।’

उनले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन दुवै देशले विभिन्न महत्त्वपूर्ण निर्णय गरेको पनि जानकारी दिए।

पत्रकार सम्मेलनमा मोदीले नेपाल र भारतबीच सदियौँदेखि कायम धार्मिक, सामाजिक तथा सांस्कृतिक सम्बन्धको चर्चा गर्दै नेपालको युवा पुस्ता प्रतिभा र ऊर्जाले भरिपूर्ण रहेको बताए। दुवै देशबीचको सहकार्यले नेपालको विकास यात्रामा थप योगदान पुर्‍याउने विश्वाससमेत उनले व्यक्त गरे।

Leave a Reply