काठमाडौँ । विभिन्न पेसागत माग सम्बोधन गर्न दबाब दिँदै डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन अफ नेपालले नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा धर्ना तथा रिले अनशन सुरु गरेको छ।

एसोसिएसनको केन्द्रीय कार्यसमिति, धुम्बाराहीको अगुवाइमा सोमबारदेखि ‘हाम्रो पेसाको सम्मान गरौँ’ भन्ने नारासहित आन्दोलन सुरु गरिएको हो। परिषद्को कामकारबाहीमा पारदर्शिता र निष्पक्षता कायम गर्न तथा डेन्टल हाइजेनिस्टहरूको पेसागत अधिकार सुनिश्चित गर्न १० बुँदे माग अघि सारिएको एसोसिएसनले जनाएको छ।

एसोसिएसनले निर्णय प्रक्रियामा स्वार्थको द्वन्द्व हुने व्यक्तिलाई सहभागी नगराउनुपर्ने, परिषद्मा दर्ता भएका डेन्टल साइन्स हाइजेनिस्टलगायत सम्बन्धित पेसागत सङ्घसंस्थाको कानुनअनुसार प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग गरेको छ। त्यस्तै, डेन्टल समुदायको प्रतिनिधित्व सुनिश्चित हुने गरी परिषद्को नियमावली संशोधन गर्नुपर्ने माग पनि अघि सारिएको छ।

परिषद्का सदस्यहरूको कार्यकाल स्पष्ट गरी पदावधि सकिएका सदस्यलाई जिम्मेवारीमा निरन्तरता दिन नहुने, नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन, २०५३ को दफा १०९४० पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने तथा विगतमा भएका सहमति र सम्झौता तत्काल लागू गर्नुपर्ने एसोसिएसनको माग छ।

आन्दोलनबारे धारणा राख्दै एसोसिएसनका अध्यक्ष माइकल देवकोटाले पेसागत मर्यादा, न्याय र सुशासनका लागि बाध्य भएर धर्ना तथा रिले अनशन सुरु गर्नुपरेको बताए।

उनले लामो समयदेखि परिषद्भित्रका विसङ्गति, स्वार्थको द्वन्द्व र पेसागत प्रतिनिधित्वको विषयमा आवाज उठाउँदै आए पनि माग सम्बोधन नभएकाले आन्दोलनमा उत्रिनुपरेको बताए।

देवकोटाले डेन्टल जनशक्तिको कार्यक्षेत्र, अधिकार, अवसर र परीक्षा प्रणालीलाई व्यवस्थित, पारदर्शी तथा विश्वसनीय बनाउनुपर्नेमा जोड दिँदै माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिए।

एसोसिएसनले परिषद्बाट सञ्चालन हुने परीक्षा प्रणालीमा सुधार तथा प्रभावकारी अनुगमनको व्यवस्था गर्नुपर्ने, दर्ता भएका डेन्टल साइन्स हाइजेनिस्ट तथा सम्बन्धित जनशक्तिको पेसागत हकहित, सम्मान, सुरक्षा र कार्यक्षेत्रको सुनिश्चितता गर्नुपर्ने मागसमेत राखेको छ।

त्यसैगरी, डेन्टल जनशक्तिको कार्यक्षेत्र, अधिकार र अवसरसँग सम्बन्धित निर्णय गर्दा सम्बन्धित पेसागत सङ्घसंस्थासँग अनिवार्य परामर्श र समन्वय गर्नुपर्ने एसोसिएसनको माग छ।

Leave a Reply