वीरगन्ज, पर्सामा भएका दुई छुट्टा छुट्टै दुर्घटनामा बुधवार दुई जनाको मृत्यु भएको छ । वीरगन्ज २५ चण्डाल चोकमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको हो । वीरगन्ज २४ बस्ने अन्दाजी ७५ वर्षीय रुपा राउत कुर्मीको मृत्यु भएको हो ।
बुधबार ना ३ ख ६०७५ नम्बरको ट्रकको ठक्करबाट साइकल यात्री रुपाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो ।
ट्रक चालक वीरगन्ज २२ जगरनाथपुरका २५ वर्षीय छोटु कुमार कुशवाहालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाईएको प्रहरीले जनाएको छ ।
त्यस्तै पर्साको बहुदरमाई नगरपालिकामा ट्याक्टरको ठक्करबाट बहुदरमाई नगरपालिका वडा नं. ८ बस्ने ४५ वर्षीय तपसी साह कानुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठेलामा चटपटे बिक्री गरी घर फर्कदै गरेका साहलाई मंगलबार राति रामनगरीबाट महुवनतर्फ जाँदै गरेको ट्याक्टरले ठक्कर दिएको थियो ।
ट्याक्टरको ठक्करबाट घटनास्थलमै उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक आयुष जोशीले जानकारी दिनुभयो ।
हेटौंडा । मकवानपुरको बकैया–३ हात्तिसुढेमा मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका श्रीपुरका ३० वर्षीय श्याम लामाको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।
मंगलबार राति हात्तिसुढेबाट श्रीपुरतर्फ आउँदै गरेको प्रदेश २ ०३ ०१८ प २५५७ नम्वरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकको नालीमा खसेर दुर्घटना हुँदा लामा घाइते भएका थिए ।

















