काठमाडौँ । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफूलाई पदबाट हटाइएको निर्णयविरुद्ध दायर गरेको रिटमाथिको सुनुवाइ तत्काल नहुने भएको छ। सर्वोच्च अदालतले नवनियुक्त आईजीपी मनोज केसीलाई अदालतको म्याद तामेल भएको प्रमाण र नियुक्तिसम्बन्धी सरकारी निर्णयको सक्कल फाइल पेस भएपछि मात्रै सुनुवाइ अघि बढाउने भएको हो।

सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा सोमबारका लागि पेसी तोकिएको थियो। तर, रिटमा विपक्षी बनाइएका आईजीपी केसीलाई अदालतको म्याद बुझाइएको प्रमाण पेस हुन नसकेपछि सुनुवाइ हुन सकेन।

म्याद तामेलीको प्रक्रिया पूरा नभएसम्म अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल अघि बढाउन नसकिने अदालतको ठहरपछि मुद्दाको सुनुवाइ अर्को पेसीका लागि सरेको हो।

अब पहिलो चरणमा केसीलाई विधिवत् रूपमा अदालतको म्याद तामेल गर्नुपर्नेछ। त्यसको प्रमाण अदालतमा पेस भएपछि मात्रै रिटमाथिको सुनुवाइ अघि बढ्नेछ।

सर्वोच्च अदालतले सरकारलाई आदेशअनुसार १५ दिनभित्र लिखित जवाफ पेस गर्न पनि भनेको छ। महान्यायाधिवक्ताको कार्यालयमार्फत पेस हुने जवाफमा कार्कीलाई आईजीपी पदबाट हटाएर मनोज केसीलाई नियुक्त गर्नुको आधार र कारण खुलाउनुपर्नेछ।

त्यसैगरी, प्रधानमन्त्री कार्यालयले केसीलाई आईजीपी नियुक्त गर्ने र कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा जिम्मेवारी दिने निर्णयसम्बन्धी सक्कल फाइल पनि अर्को पेसीमा अदालतमा पेस गर्नुपर्नेछ।

म्याद तामेली, सरकारी लिखित जवाफ र निर्णयसम्बन्धी फाइल प्राप्त भएपछि सर्वोच्चले दुवै पक्षका कानुन व्यवसायीको बहस सुनेर अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा निर्णय गर्नेछ।

अन्तरिम आदेश जारी भएमा मुद्दाको अन्तिम फैसला नआएसम्म सरकारी निर्णय कार्यान्वयनमा असर पर्न सक्छ। आदेश जारी नभएमा भने तत्कालका लागि सरकारको निर्णय यथावत् रहनेछ। यद्यपि, अन्तरिम आदेशसम्बन्धी निर्णयले रिटको अन्तिम निरूपणलाई प्रभावित गर्ने छैन।

अन्तिम फैसला हुनुअघि दुवै पक्षका लिखित जवाफ, उपलब्ध कागजात र कानुनी आधारको अध्ययन तथा बहस हुनेछ। त्यसपछि मात्रै आईजीपी नियुक्तिसम्बन्धी विवादको अन्तिम कानुनी टुङ्गो लाग्नेछ।

Leave a Reply