आरके चौधरी

सखुवाप्रसौनी,पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ३ मा रहेको जनता माध्यमिक विद्यालय पकडिया बडनिहारको प्राविधिक शिक्षालयमा व्यापक रुपमा आर्थिक अनियमितता भएको स्थानीय अभिभावकहरुले आरोप लगाएका छन् ।व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि दोस्रो परियोजना बुद्धनगर काठमाडौंले शैक्षिक सुधार कार्यक्रम अन्तर्गत तेस्रो किस्ता बापत उपलब्ध गराएको ६३ लाख रूपैयां अनियमितता बारे स्थानीय अभिभावक तथा व्यवस्थापन समितिका केही सदस्यहरुले आइतवार विद्यालयमा भएको कार्यक्रममा संचारकर्मीहरुलाई जानकारी गराएका हुन् ।विद्यालय व्यवस्थापन समितिका सदस्य जानकी देबी थरुनीहका अनुसार विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद चौधरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामायण चौधरी, कृषि भेटनरी प्राविधिक शिक्षालयका संयोजक तपेश्वरप्रसाद यादव र विद्यालयका लेखापाल शिवनारायण चौधरीको मिलोमतोमा पहिले नै निर्माण गरिएको पुरानो टनेल हाउस एक स्थानबाट अर्को स्थानमा सार्दा १ लाख पनि नलाग्नेमा ३ लाख १३ हजार र माटो पुर्नमा १ लाख १५ हजार लागेकोमा २ लाख ९२ हजार, पर्खाल निर्माणमा ३ लाख ९३ हजार, शौचालय निर्माणमा ५ लाख ७९ हजार, तीन दिनको लागि १५ जना विद्यार्थी र शिक्षकहरु पोखरा शैक्षिक भ्रमण गर्दा ७ लाख ५० हजार, ७ जना प्राविधिक शिक्षकहरुको पोसाक सिलाइ बापत २ लाख ९८ हजार लगायतका खर्च देखाएर अनियमितता गरेको उहाँले बताउनुभयो ।आफुलाई कुनै बैठकमा नबोलाउने र घरमै आएर बैठक पुस्तिकामा हस्ताक्षर गराउने गरेको उहाँको दाबी छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चौधरी र लेखापालले ६३ लाखको १० प्रतिशन कमिशन रकम ६ लाख अभिवृद्धि परियोजना काठमाडौं बुझाउने भनेर विद्यालयबाट लिएर गएकोमा ३ लाख मात्र बुझाएको र बाँकी ३ लाख अध्यक्ष र लेखापालले राखेको र जसको कारण परियोजना काठमाडौंले स्वीकृत नगरेको उहाँको भनाइ छ । लेखापाल र अध्यक्षले राखेको रकम पटकपटक विद्यालयमा जम्मा गर्न भनिए पनि उनीहरुले हालसम्म जम्मा नगरेको उहाँको भनाइ छ ।अभिभावक बिरेन्द्र चौधरीले विद्यालयमा पटकपटक आर्थिक अनियमितता हुँदा समेत नियमनकारी निकाय चुपचाप बस्नुमा उनीहरुको पनि मिलोमतो रहेको हुनसक्ने आशंका व्यक्त गर्नुभयो ।विद्यालयका अध्यक्ष रामायण चौधरीका अनुसार कमिसन बापतको रकम व्यवसायिक शिक्षा तथा तालिम परियोजना बुद्धनगर काठमाडौंका सहसचिव अष्ट लामालाई एक होटलमा बोलाई बुझाएको दाबी गर्दै आफुले कुनै अनियमितता नगरेको बताउनुभयो ।प्राविधिक शिक्षालयका संयोजक तपेश्वर यादबका अनुसार आफू करारको शिक्षक रहेको कारण आफुलाई समिति र प्रअले दबाबमा पारेर चेकमा हस्ताक्षर गर्न लगाउने गरेको र कमिशन वापतको रकम मध्ये ३ लाख अध्यक्ष र लेखापालले हिनामिना गरेको कारण फरफार हुन नसकेको बताउनुभयो । आर्थिक अनियमिततामा आफ्नो कुनै हात नरहेको उहाँको दाबी छ ।यता संचारकर्मीलाई देख्ने बित्तिकै प्रअ मोहन चौधरी बेपत्ता भएका थिए ।वडा नम्बर ३ का वडा अध्यक्ष शुकमान तमाङ्गले अनियमितता भएको भए जो कोहिलाई पनि कारबाही गरिने बताउनुभयो ।नगर प्रमुख गोकर्ण पाठकका अनुसार प्राविधिक शिक्षालयमा आएको रकमबारे पालिकासंग कुनै सहकार्य नभएको र आफ्नो मातहतमा समेत नरहेको कारण विद्यालयमा भएको अनियमितको बारे सम्बन्धित निकायले नै जवाफ दिने बताउनुभयो ।व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना दोश्रो बुद्धनगर काठमाडौंका सहसचिव अष्ट लामाले आफुले कुनै किसिमको कमिशन नलिएको प्रतिक्रिया कृपाकर्मीसंग फोनमा बताउनुभएको छ । अनियमितताको भएको भन्ने बारेमा आफूले पनि सुनेको र यसको छिटो छिनोफानो गरी दोषीलाई कारबाही गर्ने उहाँले बताउनुभएको छ ।विद्यालयमा पहिलो, दोश्रो र तेस्रो किस्ता गरि १ करोड २० लाख रकम पठाईएकोमा पटकपटक आर्थिक हिनामिना हुँदा दोश्रो किस्ता वापतको रकममा पनि ४२ लाखमा हिनामिना गरिएको भन्दै अख्तियारले समेत अनुसन्धान गरिरहेको छ ।


















