काठमाडौँ । चिकित्सा शिक्षा सुधार अभियन्ता प्रा। डा। गोविन्द केसीले सरकारसँग भएका सहमति तत्काल कार्यान्वयन गर्न माग गर्दै अन्यथा पुनः सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन्।
प्रेस विज्ञप्ति जारी गर्दै डा। केसीले २०८३ कात्तिक २१ गते शिक्षामन्त्रीसहितको सरकारी टोलीसँग भएको सहमतिका बुँदाहरू दुई साताभित्र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइए पनि अहिलेसम्म पूरा नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।
चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधार, सुशासन र समतामूलक पहुँचको माग राख्दै सुरु गरिएको उनको २४औँ सत्याग्रह गत साउन ११ गते सरकारसँग निश्चित समयभित्र माग पूरा गर्ने सहमति भएपछि स्थगित भएको थियो। तर, सरकारले सहमति कार्यान्वयन गर्नुको साटो चिकित्सा शिक्षा ऐन र सुशासनविपरीतका निर्णय गरेको भन्दै डा। केसीले कात्तिकमा नौ दिनसम्म २५औँ सत्याग्रह गरेका थिए।
कात्तिक २१ गते भएको सहमतिपछि तिहार र छठ पर्वको सार्वजनिक बिदा परेकाले सरकारलाई प्रतिबद्धता पूरा गर्न थप केही दिन समय दिइएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।
जनताको स्वास्थ्य र शिक्षासँग प्रत्यक्ष जोडिएका संवेदनशील विषयमा सरकारले आफ्नो प्रतिबद्धताबाट पछि हट्न नपाउने डा। केसीको भनाइ छ।
उनले अब पनि सहमति कार्यान्वयन नभएमा वा सहमतिविपरीतका गतिविधि जारी रहेमा स्थगित सत्याग्रहसहितको आन्दोलन पुनः सुरु गर्न बाध्य हुने चेतावनी दिएका छन्। त्यसबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी सरकारले नै लिनुपर्ने उनको भनाइ छ।
















