निजगढ,उपभोक्ताहरुको सहमतिको आधारमा नयाँ कार्यसमिति चयन गर्न साधारण सभाले दिएको समय सीमा समाप्त भएपछि निजगढ ९ स्थित आदर्श सदावहार सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष मण्डलले सहमति गर्न भनेर १५ दिनको म्याद थप गरेको छ ।
गत कार्तिक २८ गते सम्पन्न वन समूहको साधारण सभामा पेस भएका प्रतिवेदन सर्वसम्मतिले पारित गरेपनि नयाँ कार्यसमितिको पदाधिकारीहरुको लागि सहमति हुन नसकेपछि १५ दिनभित्र सहमतिको आधारमा नयाँ कार्यसमिति चयन गर्न निर्वाचन मण्डललाई जिम्मा लगाइएको थियो । तर साधारण सभाले तोकेको समय सीमाभित्र दलीय सहमति हुन नसकेर नयाँ कार्यसमिति चयन प्रक्रिया रोकिएपछि निर्वाचन मण्डलले सहमतिको लागि भन्दै थप १५ दिन म्याद थप गर्ने निर्णय गरेको हो ।
निर्वाचन मण्डलका संयोजक एंव सामुदायिक वन उपभोक्ता महासंघ बाराका अध्यक्ष रामजी बजगाईले दिएको जानकारी अनुसार समूहको विधानमा सहमतिमा कार्यसमिति चयन गर्न साधारण सभाको १ महिनासम्म प्रयास गर्ने व्यवस्था भए बमोजिम कार्यसमिति चयनको लागि म्याद थप गरिएको हो । उहाँले उपभोक्ताहरुको सहमतिको आधारमा नयाँ नेतृत्व चयन हुने पनि बताउनुभयो ।
साधारण सभाले बजगाईसहित निजगढ सवडिभिजन वन कार्यलयकी अधिकृत शर्मिला नेपाल र सामुदायिक वन उपभोक्ता महासंघ निजगढ नगर अध्यक्ष कुशबहादुर थापा सदस्य रहेको निर्वाचन मण्डल गठन गरेको थियो ।
यसैबीच साधारण सभामा नयाँ कार्यसमिति चयन गर्ने क्रममा उत्पन्न विवादले रोकिएको नयाँ कार्यसमिति चयन प्रक्रियाको बारेमा छलफल गर्न निजगढ ८ स्थित बकैया नागमणि सामुदायिक वन उपभोक्ता समूहले सोमवार अगुवा उपभोक्ता भेला गर्ने भएको छ ।
गत बैशाख २७ गतेको लागि तोकिएको निर्वाचनमा मनोनयनपत्र दर्ता गर्ने क्रममा उपभोक्ताहरुबीच उत्पन्न विवादले रोकिएको कार्यसमिति चयन प्रक्रियाको बारेमा छलफल गरेर निर्णय गर्न समूहले सोमबार बिहान ११ः३० बजे निजगढ ८ खयरघारीस्थित कार्यालय भवनमा उपभोक्ता भेला गर्न लागेको समूहका अध्यक्ष रामप्रसाद उपाध्याय ओझाले जानकारी दिनुभयो ।
समूहको पदाधिकारी चयनको लागि उम्मेदवारहरुले मनोनयन पत्र दर्ता गरेपछि उपभोक्ताहरुबीच भएको विवादले निर्वाचन प्रक्रिया रोकिएपछि समूहको काम प्रभावित हुदैआएको छ ।डिभिजन वन कार्यालय सिमराले अगुवा उपभोक्ता भेला बोलाएर कार्यसमितिको पदाधिकारी चयन प्रयोजनको लागि निर्वाचन मण्डल गठन गर्न र पुरानो कार्यसमितिमार्फत नै समूहको लेखा परीक्षण गर्न गत मंसिर १५ गते पत्राचार गरेपछि समूहले सोही विषयमा निर्णय लिन भेला डाँकेको हो ।

















